सानैदेखि गीत सङ्गीतप्रतिको मोह र लगावका कारण साङ्गीतिक यात्रामा होमिएका निर्मल कार्कीले ‘फूल झैं मन्द बास्ना…’ बोलको गीत दर्शक/श्रोताको माझ हालै सार्वजनिक गरेका छन् ।
झण्डै १६ वर्ष अघि सन् २००८ मा नेपालको ललितपुर जिल्ला, लगनखेलबाट अध्ययनको सिलसिलामा अमेरिकाको बोस्टन भित्रिएका कार्कीले, आफ्नो पहिलो साङ्गीतिक सौगात स्वरुप ‘फूल झैं मन्द बास्ना…’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। रचनाकार केशव मिश्रको शब्द, सङ्गीतकार प्रभुराज ढकालको सङ्गीत र एरेन्जर प्रज्वल लामाको सङ्गीत संयोजन रहेको उक्त गीतमा, कार्कीले आफूलाई गायन क्षेत्रमा आसलाग्दो प्रतिभाका रुपमा स्थापित गर्न भरमग्दूर प्रयास गरेका छन् । गीतले युवा पुस्ताको प्रेमिल अवस्थालाई चित्रण गर्दै प्रेम अलापलाई कलात्मक रुपमा पस्किने प्रयास गरेको छ ।
मिनाक्षी कोइरालाको निर्देशन रहेको यस गीतमा बिना राउत र सुप्रिम पाण्डेले मोडलिङ गरेका छन्। गीतको शब्द, सङ्गीत, दृश्य, गायन, अभिनय आदिको समुचित संयोजनले समग्रतामा गीत सङ्गीत प्रेमीहरुको ध्यान खिच्न सक्ने आधारहरु प्रसस्तै छन्।
कार्कीका अनुसार उनी बाल्यकालदेखि नै गीत सङ्गीतप्रति रुचि राख्ने र विद्यालय/क्याम्पसमा हुने साङ्गीतिक कार्यक्रमहरुमा भागलिएर गीत गाउने गर्दथे। गीत सङ्गीतप्रति रुचि भएतापनि विविध कारणले साङ्गीतिक यात्रालाई निरन्तरता दिन नसकेका उनेले कोरोनाको कहरका बेला आफ्नो साङ्गीतिक रुचिमा पुनरागमन गरेका थिए। यसैक्रममा उनले शास्त्रीय सङ्गीत प्रशिक्षक प्रभुराज ढकालसंग प्रशिक्षण लिन पुगे र त्यसलाई निरन्तरता दिइरहेका छन्।
श्रीमति प्रतिमा कार्की, छोरा निर्भान कार्की र छोरी नोरा कार्कीको साथमा बोस्टनमा बस्दै आएका कार्कीले बोस्टन स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा हरेक आइतबार साँझ हुने भजन किर्तन कार्यक्रममा सहभागी भइ आफ्नो गायकी कला र सीपलाई थप निखार्ने प्रयास गरिरहेका छन्। बेला बखत मौका मिल्दा उनले बोस्टनमा हुने साङ्गीतिक कार्यक्रमहरुको मञ्चमा पनि आफ्नो प्रस्तुति दिदै आइरहेका छन्।
कार्कीले ‘ फूल झैं मन्द बास्ना…’ गीत दर्शक/श्रोताका लागि आफ्नो पहिलो साङ्गतिक सौगात भएको जनाउदै दर्शक/श्रोताहरुबाट माया र उत्प्रेरणाको अपेक्षा गरेका छन्। उनले एक पटक आफ्नो गीत सुनेर र हेरेर अमूल्य सुझाव सल्लाह दिन दर्शक/श्रोताहरुलाई अनुरोधसमेत गरेका छन्। कार्कीले उनका थप दुइ वटा गीतहरु पनि निकट भविश्यमै सार्वजनिक हुने तयारीमा रहेको बताएका छन्।