भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् ।
विहीबारबाट सुरु भएको ९ औं जिल्ला अधिवेशनमा खसेको कूल ४९१ मत मध्ये २९० मत प्राप्त गरी देउजा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मोहनबीर श्रेष्ठले २०१ मत प्राप्त गरेका छन् ।
आइतबार विहान ३ बजे सम्पन्न मत गणनाअनुसार उपाध्यक्षमा किरण थापा २६२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले २२९ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा २७५ मत प्राप्त गरी विष्णु तामाङ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शम्भुप्रसाद दाहालले २१६ मत प्राप्त गरे । यसैगरी उपसचिव (पुरुष)मा सानुकाजी कायस्थले २५४ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उपसचिव (महिला) तर्फ उत्तरा नेपालले २१८ मत प्राप्त गरी विजयी भएकी छिन् ।
एमालेको ९ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सर्वसम्मत हुन नसकेपछि दुईवटा समूह बनाएर उम्मेदवारी घोषणा गरिएको थियो । सूर्यविनायक नगरपालिकामा प्रमुख बासुदेव थापा समूहले वर्तमान अध्यक्ष बचन देउजासहितको प्यानल बनाएर उम्मेदवारी दिएको थियो भने नेकपा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले मोहनबीर श्रेष्ठ नेतृत्वको प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा अगाडि बढाएका थिए ।
अधिवेशनको अन्तिम समयसम्म सहमति गर्ने प्रयास गरिएतापनि वर्तमान उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि दुईवटा प्यानल बनाएर उम्मेदवारी दिएका थिए । सोही कारण शुक्रबार सम्पन्न हुनुपर्ने अधिवेशन शनिवारसम्म धकेलिएको थियो ।
शनिवार सम्पन्न निर्वाचन कार्यक्रम समेत दुई प्यानलको बीचमा विवाद सिर्जना भएपछि केही समयका लागि स्थगित भएको थियो । झण्डै आधा मतदाताले मतदान गरिसकेपछि दुई पक्षबीच विवाद सिर्जना भएपछि शनिवार राती पुनः मतदान गर्नुपरेको बताइएको छ । सोही कारण आइतबार विहान मात्र मतपरिणाम सार्वजनिक भएको थियो ।