भक्तपुर । एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन विहीबारबाट सुरु भएको छ । पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने भनेर प्रचार गरिएको जिल्ला अधिवेशन अन्तिम समयमा आएर पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गरेका हुन् ।
जिल्ला संगठनमा नयाँ नेतृत्व चयन गरिने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन नहुने लगभग पक्का भएपछि पार्टी उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओली आफू नगएर महासचिवलाई पठाएको बुझिएको छ ।
जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएसँगै अहिले बन्द सत्र चलिरहेको एमाले केन्द्रीय सदस्य निर्मल भट्टराईले जानकारी दिए । भट्टराईले बन्द सत्रमा पार्टीको सांगठानिक र आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको बताए । आज बन्द सत्र सकिएपछि नेतृत्व चयनका लागि भोलि शुक्रबार प्रक्रिया अगाडि बढ्नेछ ।
पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनित सहित ४ सय ९८ जना प्रतिनिधिहरु जिल्ला अधिवेशनका लागि चयन भएका छन् ।
भक्तपुर जिल्लाका एमालेको केन्द्रीय तहमा नेतृत्व गरिरहेका युवा संघका इन्चार्जसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले जिल्ला संगठनमा नयाँ नेतृत्व ल्याउने मनसाय देखाएपछि यसपटकको जिल्ला अधिवेशनमा गुटगत प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
पार्टी संगठनमा जिल्लाको नेतृत्व गरिरहेका वर्तमान अध्यक्ष बचन देउजासहितको समिकरणलाई भत्काएर नयाँ समिकरण तयार गर्ने रणनीतिमा बस्नेत स्वयं लागेपछि त्यसलाई काउन्टर दिन देउजा नेतृत्वको अर्काे समिकरण तयार भएको छ ।
यसपटकको जिल्ला अधिवेशनमा एकातिर महेश बस्नेतको समिकरण तयार हुँदैछ भने अर्काेतर्फ सूर्यविनायक नगरपालिकाका मेयर तथा पार्टीको जिल्ला संगठनका उपाध्यक्ष बासुदेव थापासहितको अर्काे समिकरण बन्ने लगभग निश्चित भएको छ ।
बस्नेतले शुक्रबार जिल्ला अधिवेशनको बन्द सत्रको छलफल पश्चात पनि सहमतिमा नेतत्व चयन गर्ने प्रयास गर्ने बुझिएको छ । यदि यो सम्भावना रहेन भने मतदानबाटै भएपनि जिल्ला नेतृत्वमा आफ्ना पक्षधरलाई ल्याउने रणनीतिमा बस्नेत लागेका छन् । उता वर्तमान पार्टी अध्यक्ष बचन देउजालाई अगाडि सारेर जसरी पनि आफ्नो पक्षमा नेतृत्व हत्याउने रणनीतिमा उपाध्यक्ष थापा पनि अगाडि बढिसकेका छन् । जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्न थापाले यसअघि नै भित्री कसरत गर्दै आएका थिए । थापाले आफ्नो मातहतमा रहेका कतिपय जनप्रतिनिधिहरुलाई विभिन्न आश्वसनसमेत बाँडेको आरोप बस्नेत पक्षले लगाउँदै आएको छ ।
त्यसो त कतिपयले पार्टी उपाध्यक्ष थापाकै कारणले पनि नवौं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न कठिन भएको बताएका छन् । यदि थापा पछि हट्ने हो भने वर्तमान अध्यक्ष देउजालाई सहमति गरेरै भएपनि अगाडि बढ्न सक्ने बस्नेत पक्षका नेताहरुले बताएका छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसका दुर्लभ थापासँग झिनो मतान्तरले पराजित भएपछि बस्नेत जिल्ला पार्टी नेतृत्वप्रति रुष्ट बन्दै आएका थिए । त्यतिखेर पार्टी पंक्तिले नै आफूमाथि घात गरेको बुझाई बस्नेतको रहँदै आएको थियो । उक्त निर्वाचनमा आफू पराजित हुनुमा बाह्य पक्षसँगै पार्टी उपाध्यक्ष थापा पनि कारक रहेको बुझाइ बस्नेतको रहेको छ । सोही कारण पनि थापालाई पार्टी नेतृत्वमा ल्याउन बस्नेत इच्छुक देखिएका छैनन् । यो परिस्थितिलाई राम्ररी बुझेका थापा पनि बस्नेतलाई चुनौती दिँदै नयाँ समिकरणसहित अगाडि बढिसकेका छन् ।
थापाले निर्माण गर्ने समिकरणमा वर्तमान अध्यक्ष बचन देउजा सहित अहिले सूर्यविनायक नगरपालिका अन्तर्गत बस्नेतकै वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा लगायतलाई अगाडि सार्ने सम्भावना समेत रहेको छ । यद्यपि, केन्द्रीय तहका नेतृत्वले भने थापालाई साथ र समर्थन नगर्ने बुझिएको छ ।
यता बस्नेतले भने अन्तिम अवस्थासम्म पनि सहमतिको प्रयास सफल नभएमा मोहनबीर श्रेष्ठ नेतृत्वमा नयाँ टिम खडा गरेर मतदानमा जाने तयारी गरेका छन् । विगतको तिक्ततालाई मेटाएरै भएपनि अहिले बस्नेतको पक्षमा केन्द्रीय सदस्य सोम मिश्र तथा शशिजंग थापा र राजेन्द्र राजथला समेतको साथ र समर्थन रहेको बताइएको छ ।