एजेन्सी । हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा सोमबार गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन् ।
नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, “खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल भोलि इजिप्ट पुग्नेछ र इजिप्टका गुप्तचर अधिकारीहरूसँगको बैठकमा इजराइली प्रस्तावमाथि हमास समूहको प्रतिक्रिया दिनेछ ।”
गाजा क्षेत्रमा लडाइँ जारी रहे पनि मध्यस्थकर्ता इजिप्टले रोकिएको वार्तालाई पुनः सुरु गर्नका लागि यसै साता आफ्नो प्रतिनिधिमण्डललाई इजराइल पठाएको थियो ।
इजिप्ट, कतार र अमेरिकाले नोभेम्बरमा युद्धलाई एक साताका लागि रोक लगाएर इजराइली जेलमा राखिएका दुई सय ४० प्यालेस्टिनीको बदलामा ८० इजराइली बन्दीको आदानप्रदान गरेयता नयाँ गाजा युद्धविराम सम्झौताका लागि असफल प्रयास गरिरहेका छन् ।
गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतामा पुग्नका लागि हालका दिनमा कूटनीतिक प्रयास तीव्र बनाइएको छ ।
अमेरिकी समाचार वेबसाइट एक्सियोसले दुई इजराइली अधिकारीलाई उद्धृत गर्दै इजराइलको पछिल्लो प्रस्तावमा बन्धकहरूको रिहाइपछि गाजामा ‘दिगो शान्तिको पुनःस्थापना’ बारे छलफल गर्न इच्छुक रहेको बताएको छ । एक्सियोसका अनुसार करिब सात महिनाको युद्धमा पहिलो पटक इजराइली नेताहरूले युद्धको समाप्तिमा चर्चा गर्न उनीहरू खुला रहेको बताएका छन् ।
“हमास नयाँ प्रस्तावमा सकारात्मकरूपमा छलफल गर्न तयार छ”, वार्तासँग सम्बन्धित हमासको एक अर्को स्रोतले एएफपीलाई भनेको छ, “स्थायी युद्धविराम, विस्थापित मानिसको स्वतन्त्र फिर्ती, कैदीहरूको आदानप्रदानका लागि स्वीकार्य सम्झौता र गाजा घेराबन्दी अन्त्य सुनिश्चित गर्ने सम्झौतामा पुग्न हमास इच्छुक छ ।”