काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा मधेश प्रदेशले कोशी प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।
जितसँगै ५ खेलबाट ६ अंक बटुलेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा छ भने आफ्ना ४ खेलमा सबै खेल गुमाएको कोशी तालिकाको पुछारमा रहेको छ।
मंगलबार टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाएको थियो।
समीर कार्कीले २८, सर्वन यादवले २७ र सुजन थपलियाले १६ रन बनाउन बाहेक कोशीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।
कसिलो बलिङ प्रदर्शन गरेको मधेश प्रदेशले कोशीलाई कम योगफलमा रोक्न सफल भएको थियो। मधेशका लागि विशाल पटेल, अविशेक तिवारी, रञ्जित कुमार र प्रदीप पासवानले समान २/२ विकेट लिएका थिए।
जवाफमा ९१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको मधेश प्रदेशले दोस्रो ओभरको पाँचौँ बलमा ओपनर शाहील पटेललाई व्यक्तिगत ११ रनको स्कोरमा गुमाएको थियो। तर, खेलले नाटकीय मोड भने पाँचौँ ओभरमा गएर लियो।
पाँचौँ ओभर बलिङ गरेका कोशीका सर्वन यादवले ओभरको दोस्रो बलमा मयन यादवलाई आउट गरे। लगत्तै तेस्रो बलमा राहुल मण्डल र चौथो बलमा अरनिको यादवलाई आउट गर्दै सर्वनले आफ्नो ह्याट्रिक पूरा गर्दा मधेश १८–४ को अवस्थामा पुगेको थियो।
सर्वनले सोही ओभरको अन्तिम बलमा विशाल सुश्लिंगलाई पभेलियन तर्फको बाटो देखाउँदा कोशी खेलमा हाबी बन्न पुग्यो। बलिङबाट लगातार दबाब सृजना गरेको कोशी प्रदेशका लागि दीपेश कँडेलले आठौँ ओभरमा प्रदीप पाशवानलाई समेत आउट गरे ।
२३–६ को अवस्थामा रहेको मधेशलाई चेजमा बनाएर राख्ने क्रममा ओपनर रोहन विक र विशाल पटेलले सातौँ विकेटका लागि ५९ रनको महत्त्वपूर्ण साझेदारी गर्दा मधेशको चेज लयमा फर्कियो।
३७ रन बनाएर ब्याटिङ गरिरहेका विशाल पटेललाई दीपेश कँडेलले आउट गर्दा कोशी प्रदेश पुनः खेलमा फर्किने प्रयासमा देखिएको थियो। यद्यपि एक किनारबाट ओपनिङ ब्याटिङ गर्न आएका रोहन विकले अविजित ३१ रन बनाउँदै मधेशलाई १७ बल बाँकी रहँदा नै २ विकेटको जित दिलाए।