काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ ।
प्रतिपक्षी सांसदहरुले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदस्यीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले उठेका विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनमा सघाउन आग्रह गरेका थिए ।
तर विपक्षी सांसद्ले बैठक चल्ने नदिने अडान लिएपछि सभामुख घिमिरेले आजका लागि निर्धारित कार्यसूची हटाइ बैठक स्थगन गरे ।
बैठकको प्रारम्भमै प्रतिपक्ष दलका सांसदहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारीपीडितले न्याय पाउन नसकेको आरोप लगाए भने सत्तापक्षका सांसदहरुले बिना आधार व्यक्तिकेन्द्रित भएर प्रहार नगर्न आह्वान गरे ।
कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशङ्का व्यक्त गरे । दोषीलाई उम्काउने काम सरकारबाट भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेको उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको बचतकर्ताको बचत अपचलनको विषय ठगीको विषय भएको भन्दै बचतकर्ता नठगिने स्थितिको सुनिश्चितता सरकारले गर्नुपर्ने माग गरे । उनले सूर्यदर्शन सहकारीको विषय अदालतमा विचाराधीन भएका कारण सदनमा बहस नगर्नसमेत सुझाव दिए ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेछ ।