बेइजिङ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
बेइजिङस्थित स्टेट गेस्ट हाउसमा आज अपराह्न भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रुपमा रहिआएको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याए ।
नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताए। चीनले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आगामी दिन चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गरे। “अबको एक मात्रै एजेण्डा आर्थिक विकास हो, यसमा चिनियाँ सहयोग महत्वपूर्ण हुनसक्छ”, उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सीमामा रहेका १४ वटा परम्परागत नाकालाई पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै उनले पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित हवाई उडान गर्न अनुरोध गरे । नेपालले चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा (भिसा)मा सहजीकरण गरेको स्मरण गराउँदै उनले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गरे ।
सो अवसरमा स्थायी समिति सदस्य हुनिनले चीन र नेपाल हिमालय र नदीले जोडिएको मुलुक मात्र नभई एउटै परिवारका सदस्यका रुपमा रहेको बताए । उनले दुवै देशका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।
चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सिपिपिसिसीका अध्यक्ष हुनिनले नेपालले आफ्नो मुलुकको समृद्धिका लागि लिने निर्णयप्रति चीनको दृढ समर्थन रहने बताए । चीन र नेपाल दुवै आर्थिक समृद्धिको दिशामा सँगसँगै अघि बढ्नुपर्छ भन्दै उनले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रुपमा लैजान चिनियाँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
नेपाल सन् २०२६ मा अतिकम विकसिकत मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि सहयोग गर्न चीन तयार रहेको बताए ।
भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री श्रेष्ठ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादवलगायत सहभागी थिए ।
चिनियाँ प्रतिनिधिमण्डलमा स्थायी समिति सदस्य हुनिनसहित चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका पदाधिकारीको सहभागिता थियो ।