काठमाडौं । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले पूर्व अर्थमन्त्रीले संसदमा पेश गरेको विनियोजन विधेयक २०८१ लाई अहिलेको अर्थमन्त्रीले स्वामित्व लिन आवश्यक नभएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा सहभागी हुँदै सांसद ढकालले अहिले प्रस्तुत गरिएको विधेयकमाथि व्यापक परिमार्जन र पुनर्लेखन गर्नुपर्ने बताए ।
ढकालले भने, ‘यो बिधेयक संसदमा पेश हुँदै गर्दा पर्यटन आवगमन र विद्युत उत्पादनमा केही बृद्धि बाहेक नेपाली अर्थतन्त्रका अन्य प्राय सबै सूचकहरु सन्तोषजनक छैनन् । राजस्व संकल लक्ष अनुरुप नहुनु, वित्तिय क्षेत्र अन्तर्गत सहकारी र लघुवितमा गम्भीर समस्या देखिनु,ऋणको दायित्व भुक्तानी गर्न ठूलो रकम छुट्याउनु पर्ने, संकलित राजस्वले अनिबार्य दायित्व धन्न नसक्ने, ब्यापार घाटा लगाएतका कारण वर्तमान नेपाली अर्थतन्त्र चुनौतिपूर्ण छ भन्ने देखिन्छ। अब यी वर्तमान अर्थतन्त्रका चुनौतीहरुको समाधान गर्न उच्च र दिगो आर्थिक बृद्धि गर्ने, उत्पादनको विकास र रोजगारीको सृजना गर्ने, गरिबी निवारण गर्ने, दिगो बिकासका लक्ष हासिल गर्न सक्ने बजेट अहिलेको आबस्यकता रहेकोमा यस बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु यो आबस्यकताको सम्बोधन गर्ने खालको छैन। त्यसैले यो बिनियोजन बिधेयक कर्मकाण्डी मात्र छ।’
सांसद ढकालले विनियोजन विधेयकले २०२६ सम्म नेपाललाई विकाशील राष्ट्रमा स्तरोउन्नति गर्ने, २०२३० सम्म हाँसिल गर्नु पर्ने दिगो विकासको लक्ष्यको सन्दर्भ उल्लेख गरे पनि यसका सिद्धान्त र प्राथमिकता पुराना बिषयले मात्र स्थान पाएकोले यी लक्षहरु हासिल हुन नसक्ने बताए ।
उनले बिनियोजन विधेयकका सिद्धान्तमा उल्लेख गरिएका प्राय सबै बिषयहरु विगतको निरन्तरता मात्र भएको बताए । ढकालले परम्पराको निरन्तरताले मात्रै कसरी नयाँ लक्षहरु हासिल हुन सक्छ ? भनी प्रश्न गरे । उनले यसका सिद्धान्तमा छुटाउन नहुने बिषयहरु भनेको, शान्ति संवेदनशील बवकासको अवधारणा (Peace Sensative Development Approach) भएको बताए ।
सांसद ढकालले नैतिकवान समाजको सृजना र मानवीय मूल्य मान्यताको जगेर्ना भएको बताउँदै भने, आर्थिक विकास र सुशासन प्राय सबै राजनैतिक दलको एजेन्डामा परेपनि बिकासको मोडेल र सुशाशनको मापदण्डमा दलहरु प्रष्ट हुनु पर्ने देखिन्छ। तसर्थ बिनियोजन विधेयकमा उल्लेखित पुराना अवधारणाले अहिलेको नयाँ आवश्यकताको परिपूर्ति गर्न सक्दैन ।’
सांसद ढकालले अर्थमन्त्रीलाई शान्ति संबेदनशील विकासको अबधारणा, वातावरण मैत्री बिकासको अवधारणा र ‘नैतिकवान समाजको सृजनालाई बिनियोजन विधेयकको सिद्धान्तमा समावेश गर्न आग्रह गरे । उनले भने, ‘राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ र यहि बिन्दुवाट द्वन्द्वको बिजारोपण हुन्छ। सामाजिक न्याय र शान्ति प्रकृयाले सार्थकता पाउन पनि शान्ति संवेदनशील विकास अवधारणाको कार्यान्वयन आवश्यक रहेको माननीय अर्थमन्त्री ज्यू जानकार नै हुनुहुन्छ।’
बिनियोजन विधेयकको प्राथमिकता तय गर्दा देशको आवश्यकता र सम्भावनालाई केन्द्रमा राख्नुपर्ने बताउँदै ढकालले नेपाल कृषि प्रधान देश हो र कृषि उत्पादनमा बृद्धि गरि निर्यात बढाउने र आयात घटाउने गरि राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने पहिलो प्राथमिकता हुनुपर्ने बताए ।
यस्तै सरकारको प्राथमिकतामा पर्यटन क्षेत्रलाई राख्न सकिने भन्दै ढकालले पर्यटनको थप बिकासको लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा जोड दिँदै Hospitality Industries लाई प्रोत्साहन गरिनुपर्ने बताए । उनले धार्मिक पर्यटकको विकासमा उल्लेख्य योजना निर्माण गरिनुपर्ने बताउँदै पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गरिनुपर्नेमा जोड दिए ।
यसैगरी, जलविद्युतको विकासलाई प्राथमिकतामा राखी जलाशययुक्त बुढी गण्डकी जलबिधुत आयोजनालाई सबैभन्दा प्राथमिकतामा राखी यथा सिघ्र निर्माण कार्यको थालनी गर्नुपर्ने ढकालले बताए ।
सांसद ढकालले सूचना प्रबवधि, औधोगिक विकास, भौतिक पूर्वाधार, वित्तीय क्षेत्र सुदृढीकरण, सामाजिक क्षेत्रको विकास, शन्ति सुरक्षा, सामाजिक न्याय, कानुनी शासन, अन्तर्राष्ट्रिय सम्बन्ध, विपद व्यवस्थापन आदि क्षेत्रहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
सांसद ढकालले भने, ‘सभामुख महोदय, यस बिनियोजन विधेयकमा कुनै चासो नराखिएको तर प्राथमिकतामा छुटाउन नहुने बिषयहरु भनेको सामाजिक सदभावको अभिबृद्धि, नैतिक शिक्षाको लागु, र हाम्रा असल पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्नु हो। समाजमा भुसको आगो जस्तै भित्रभित्रै फैलियको कुलत, अनैतिकता र बिकृतिको आगो निभाउन राज्य स्तर वाटनै समयमै पहलकदमी नाथाल्नु हो भने यसले हाम्रो समाजलाई नष्ट पार्ने छ।’
सांसद ढकालले सामाजिक सदभाव, ऎक्यबद्धता र भाइचाराको अभिबृद्धि गर्न एक ‘अन्तरधार्मिक तथा अन्तर-सास्कृतिक आयोगू गठन गर्ने सोच अघि बढाऊन समेत आग्रह गरे । उनले नैतिकवान समाज सृजनाको लागि बिद्धालय स्तर वाट नैतिक शिक्षा लागू गर्न सकिने धारणा राख्दै पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न व्यापक जनचेतना तथा असल पारिवारिक शिक्षा प्रदान गर्न सकिने बताए ।
सांसद ढकालले अधिकार र स्वतन्त्रताको नामवाट नेपाल प्रवेश गरेको पश्चिमी हावाले हाम्रा असल पारिवारिक मुल्यमान्यताको बिखन्डन गरेको प्रति सरकार सचेत हुनुपर्ने सुझाव दिए । उनले परिवार बिखन्डन गर्ने र प्राकृतिक मूल्यमान्यता बिपरितका क्रियाकलापमा बैदेशिक अनुदान हुने कुरा रोकिनुपर्छ र सरकार परिवार मजबुत बनाउने कार्यमा लाग्नुपर्ने बताए । उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष हँसिल गर्न आगामी बजेट केन्द्रित हुनु पर्छ। १५औँ पञ्चवर्षीय योजनामा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिको लागि समृद्धिका ३२ वटा सूचक र सुखका २३ वटा सूचक गरि ५५ सूचक सार्वजनिक गरेको थियो । आगामी बजेट यसकै वरिपरिमा आउने विश्वास व्यक्त गर्दछु।’