काठमाडौं । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले राजधानी जोड्ने सडकको मर्मत सम्भारमा सरकारको ध्यान पुग्न नसकेको भन्दै संघीय सरकारको क्षमतामाथि प्रश्न उठेको बताएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ढकालले संघीय राजधानीलाई जोड्ने नागढुंगा देखि नौबिसे खण्डको सडक लामो समयदेखि जिर्ण अवस्थामा रहँदापनि त्यसको मर्मतको कामले कुनै गति लिन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।
छिमेकी मुलुक भारत लगायत भुटान तथा बंगलादेशका पर्यटक समेत यही बाटो हुँदै नेपाल भित्रिने बताउँदै सांसद ढकालले भने, ‘नेपाली मात्र नभएर भारत, भुटान, बंगलादेश सम्मका पर्यटकहरुले समेत काठमाडौँ आवत जावतमा प्रयोग गर्ने यस सडकको दुर्दशाले अन्तराष्ट्रिय बेइजेति कमाएको छ। सडक यात्रीहरु यो बाटो मार्फत काठमान्डौ प्रवेश गर्दै गर्दा कुनै देशको राजधानी होइनकि दुर्गम गाउ तर्फ जादै गरेको अनुभूति गर्छन । यसले संघिय सरकारको क्षमतामा प्रश्न खडा गरेको छ।’
सांसद ढकालले सार्वैजनिक यातायातमा यात्रा गर्ने बालबालिका, जेष्ठ नागरिक, विरामी सुत्केरीले सडकको दुरावस्थाका कारण दैनिक कष्ट भोग्नु परेको बताउँदै तत्काल सरकारले यो बिषयलाई ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘सार्वजनिक यातायातमा यात्रा गर्ने बालबालिका, जेष्ठ नागरिक, बिरामी, सुत्केरी आदिले दैनिक भोग्नु परेको पीडा प्रति संवेदनशील भएर यस सडक खण्डको पुनर्निर्माणलाई उच्च प्राथमिकताम राखी तिब्र गतिमा मर्मत तथा निर्माण कार्य सम्पन्न गर्न सम्माननीय सभामुख ज्यू मार्फत नेपाल सरकारको गम्भीर, गम्भीर र गम्भीर ध्यानाकर्षण गर्दछु।’