काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पाँच दलीय गठबन्धनबीच ७ बुँदे सहमति भएको छ ।
आज नयाँबानेश्वरमा बसेको नेकपा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)को बैठकमा ७ बुँदे सहमति भएको हो ।
५ दलबीच राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्य गरी वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ ।
यस्तै, राष्ट्रियसभाको रिक्त अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने, नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएको छ ।
यसैगरी, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति पत्रमा उल्लेख गरिएको छ ।
मुलुकका आर्थिक समस्यालाई सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदेढ बनाउन सरकारले नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूबीच साझा न्यूनतम कार्यक्रम तयार गर्न दलहरू सहमत भएका छन् ।