काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनमा चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन सुरु भएको छ ।
जन बृहत् सभा भवनमा मार्च ५ तारिख विहान सुरु भएको उक्त अधिवेशनमा चीनका राष्ट्रपति सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टीका उच्च स्तरीय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
मंगलबारबाट सुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रममा चीनका प्रधानमन्त्री एवं राज्य परिषद्का सदस्य ली छ्याङले सो अधिवेशन समक्ष सरकारी कार्य प्रतिवेदन प्रस्तुत गरेका छन् ।
चीनको अघिल्लो बर्षको कार्य प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली छ्याङले विगत एक वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको भावना चौतर्फी रुपमा अपनाउने पहिलो वर्ष हुनुका साथै यस पटकको सरकारले ऐन बमोजिम जिम्मेवारी बहन गर्ने पहिलो वर्ष भएको लीले बताए ।
प्रधानमन्त्री लीले सुरक्षा, विकास र स्थिरताका दृष्टिकोणले पनि वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति कठिन मोडमा उभिएको बताउँदै राष्ट्रपति सी चिन फिङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले एकजुट भएर अगाडि बढेको बताए । उनले भने, ‘कोरोना महामारीको प्रतिरोध तथा नियन्त्रण कार्यमा निर्णायक विजय प्राप्त गरेको छ ।गत वर्षको आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य सफलताका साथ पूरा भएको छ, उच्च गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, समाजको स्थिर परिस्थिति कायम भएको छ, समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फी रुपमा निर्माणका लागि दृढताका साथ पाइला सारिएको छ ।’
विश्व अर्थतन्त्र खस्किएको अवस्थामा पनि चीनको समग्र आर्थिक विकास स्थिरताबाट उच्च गतितर्फ उन्मूख हुन थालेको प्रधानमन्त्री लीले बताए । उनले सन् २०२३ मा चीनको कूल गार्हस्थ उत्पादन मात्रा १२६० खर्ब चिनियाँ युआन नाघेको बताउँदै यो दर सन् २०२२ को तुलनामा ५.३ प्रतिशतले बढेको बताए ।
प्रधानमन्त्री लीले चीनको आर्थिक विकासको बृद्धि दर विश्वका मुख्य आर्थिक समुदायहरुमध्ये अग्र स्थानमा रहेको समेत बताए । उनले शहर तथा गाउँबस्तीमा नयाँ थपिएको रोजगारीको संख्या १ करोड २४ लाख ४० हजार पुगेको र शहर तथा गाउँ बस्तीमा बेरोजगारी दर ५.२ प्रतिशत रहेको उल्लेख गरे ।
प्रधानमन्त्री लीले उपभोक्ता मूल्य सूचि ०.२ प्रतिशतले बढेको बताउँदै अन्तर्राष्ट्रिय आय तथा खर्च आधारभूत रुपमा सन्तुलित रहेको उल्लेख गरे । आधुनिक उद्योगको प्रणालीको निर्माणमा महत्वपूर्ण प्रगति हासिल भएको बताउँदै प्रधानन्त्री लीले भने,‘परम्परागत उद्योग तीव्र गतिले नयाँ खालको उद्योगमा परिणत गरिएको छ भने रणनीतिक नवोदित उद्योगको गतिशीलता साथ विकास हुँदै आएको छ । भावी उद्योगको व्यवस्थित रुपरेखा बनेको छ भने उन्नत उत्पादन उद्योग तथा आधुनिक सेवामुलक उद्योग गहन रुपमा मिसिएको छ ।’
चीनले हवाई क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको बताउँदै प्रधानमन्त्री लीले चीनबाट उत्पादित ठूलो विमान सी ९१९ को व्यापारिक सञ्चालन शुरू भएको बताए । उनले चीनबाट उत्पादित ठूलो जहाजको सफल निर्माण हुनुको साथै नयाँ ऊर्जायुक्त मोटर–गाडीको उत्पादन तथा विक्री मात्रा विश्वमा ६० प्रतिशतभन्दा बढी पुगेको बताए ।
सूचना तथा प्रविधि अनि विज्ञानका नयाँ आविष्कारका क्षेत्रमा समेत चीनले गएको बर्षमा उल्लेखनीय उपलब्धी हासिल गरेको बताउँदै प्रधानमन्त्री लीले अन्तरिक्ष एन्जिन, ग्याँस टर्बाइन, आणविक ऊर्जाबाट बिजुली निकाल्ने चौथो पुस्ताको उपकरण लगायत उन्नत प्रबन्धहरुको अनुसन्धानमा विशाल प्रगति हासिल गरेको बताए ।
चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा क्वान्टम प्रविधि लगायत अग्र स्थानमा सिर्जनात्मक उपलब्धीहरु निरन्तर रुपमा अगाडि बढिरहेका उनले बताए । यो अवधिमा चिनियाँ प्रविधि सम्बन्धी करारको रकम २८.६ प्रतिशतले बढेको र सिर्जनात्मक विकासको क्षमता निरन्तर रुपमा उकासिँदै गएको प्रधानमन्त्री लीले बताए ।
सरकारी प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली छ्याङले चीनले सुधार तथा खुलापनलाई गहनरुपमा अगाडि बढाइएको बताए । उनले नयाँ चरणको संस्थाको सुधार केन्द्रीय तहमा आधारभूत रुपमा पूरा भएको र स्थानीय तहमा सुधार गर्ने कार्य निरन्तर रुपमा चलिरहेको बताए । उनले भने,‘ देशभरि एकीकृत ठूलो बजारको निर्माणलाई सबल पारिएको छ । राष्ट्रिय व्यवसायको सुधारलाई गहिरो र माथि उकास्ने कारबाही चलाइएको छ भने गैर–सरकारी आर्थिक क्षेत्रलाई विशाल बनाउने नीति लागू गरिएको छ ।’
चीनको उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यातको अनुपात गएको बर्षमा स्थिर रहेको बताउँदै प्रधानमन्त्री लीले विदेशी पूँजीको व्यवहारिक प्रयोगको बनौट श्रेष्ठ भएको र “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण गर्ने अन्तर्राष्ट्रिय प्रभाव शक्ति अझ स्पष्ट रुपमा बढेको बताए ।
चीनले कृषि उत्पादनमा ऐतिहासिक उपलब्धी हासिल गरेको बताउँदै हाल चीनमा अन्नबालीको उत्पादित मात्रा १३ खर्ब ९० अर्ब किलो पुगेको प्रधानमन्त्री लीले बताए । त्यसैगरी ऊर्जा–स्रोतको आपूर्ति पनि स्थिर रुपमा रहेको उनले बताए ।
चीनले विश्वव्यापी रुपमा बढ्दै गएको पर्यावरणीय जोखिमलाई ध्यानमा राखेर वातावरणको गुणस्तरमा सुधार गर्दै अगाडि बढेको प्रधानमन्त्री लीले बताए । उनले प्रदूषणको प्रतिरोध तथा कार्यान्वयन गहन रूपमा गरिएपछि मुख्य प्रदूषित बस्तुको निष्काशित मात्रा निरन्तर कम भएको र पानी तथा समुन्द्रीय किनारा नजिकको पानीको गुणस्तरमा निरन्तर सुधार आएको समेत बताए ।
चिनियाँ जनताको जीवस्तर दिन प्रतिदिन उकालो लागिरहेको बताउँदै प्रधानमन्त्री लीले जनजीवनको प्रत्याभूति सशक्त र प्रभावकारी बन्दै गएको बताए । हाल चीनका जनताको प्रतिव्यक्तिको आम्दानी ६.१ प्रतिशतले बृद्धि भएको बताउँदै यो बृद्धिदर शहर तथा गाउँघरका बासिन्दाको आम्दानीको भिन्नता निरन्तर रूपमा घट्दै गएको प्रधानमन्त्री लीले बताए ।
उनले गरिबी निवारणको प्रतिफल अझ सृदृढ बन्नुका साथै विपन्न अवस्थाबाट उन्मूलन भएका ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानी ८.४ प्रतिशतले बृद्धि भएको बताए ।
चीनले अनिवार्य शिक्षा, आधारभूत पेन्सन र आधारभूत चिकित्सा लगायतका वित्तीय सहायतालाई बढाउनुका साथै सहायता र प्रत्याभूति दिने व्यक्ति र परिवारको परिधिको विस्तार गर्दै आएको प्रधानन्त्री लीले बताए ।
चीनले बृद्धबृद्धा र बालबालिकाको व्यक्तिगत अतिरिक्त आयको कर घटाउने मापदण्डलाई उकासेपछि ६ करोड ६० लाख करदाता लाभान्वित भएको उनले बताए । यसका अतिरिक्त चीनले शहर र ग्रामीण क्षेत्रका पुराना आवास क्षेत्र र बस्ने घर भवनको सुधार–कार्य र प्रत्याभूतियुक्त घरजग्गाको आपूर्तिलाई सबल पारेपछि करोडौँ परिवार लाभान्वित भएको समेत बताए ।
वितेको १ बर्षको समीक्षा गर्दै प्रधानमन्त्री लीले जटिल परिस्थितिलाई सामना गर्दै चीनले आर्थिक प्रगति गर्नुमा राष्ट्रपति सी चिन फिङ नेतृत्वमा चिनियाँ जनताको साझा प्रयासले मुख्य भूमिका खेलेको समेत बताए । उनले आगामी बर्ष सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको दृढ नेतृत्वमा चिनियाँ जनताले साहस, बुद्धिमत्ता र क्षमता लिएर जुनसुकै कठिनाई, अवरोध र खतरालाई जित्ने विश्वास समेत लिएको बताए ।