काठमाडौँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनभित्रमा खटपट सुरु भएसँगै राजनीतिक रुपमा नयाँ समिकरण बन्ने निश्चित भएको छ ।
सत्ता गठबन्धनभित्र मन्त्रिपरिषद् पुनर्गठन तथा राष्ट्रिय सभाका अध्यक्ष चयनका बिषयमा सहमति जुट्न नसकेपछि माओवादीले नयाँ समिकरणको पाइला चाल्न खोजेको हो ।
विहानैदेखि झरीको मौसम रहँदा आइतबार दिनभरि प्रचण्डले गठबन्धन इतर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएर राजनीतिक माहोल तताइरहेका थिए ।
त्यो भेटलाई टुलुटुलु हेरिरहेका गठबन्धनको नेतृत्वकर्ता कांग्रेस सभापति शेरबहादुर देउवा र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई सहमतिमा ल्याउन सफल हुन सकेनन् ।
अन्ततः राती अबेर प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका अन्य दलहरुको सहमतिमा टिआरसी विधेयकलाई टुङ्गो लगाउने र राष्ट्रिय सभा अध्यक्षमा मिलेर जाने सहमति गरेपश्चात सोमबार विहान बस्ने भनिएको गठबन्धनको बैठक एकाएक स्थगित हुनपुग्यो ।
आइतबार राती विकसित भएको नयाँ राजनीतिक परिस्थितिका कारण वर्तमान सत्ता गठबन्धन लगभग टुङ्गिएको छ भने नयाँ सत्ता समिकरण बन्ने तयारीमा रहेको छ । यसको निम्ति नेकपा एमालेको सचिवालय बैठक जारी छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पदाधिकारी बैठक राखेको छ ।
सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तय हुँदै गर्दा सत्ता गठबन्धनकै अर्काे दल जनता समाजवादी पार्टीले पनि आकस्मिक रुपमा बैठक डाकेको छ ।
त्यसो त, भर्खरै कांग्रेसको महासमिति बैठकबाट माओवादी लगायतका दलहरुसँग सत्तामा सहकार्य हुन सक्ने तर निर्वाचनमा गठबन्धन हुन नसक्ने दस्तावेज पारित भएको थियो ।
कांग्रेस महासमिति र्बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्तावमा अहिलेको उपलब्धी हत्या र हिंसा नभएर जनआन्दोलनबाट प्राप्त भएको उल्लेख थियो । त्यसमाथि राष्ट्रिय सभामा ठूलो दल हुँदा पनि अध्यक्षमा कांग्रेसले दाबी नछाडेका कारण माओवादी असन्तुष्ट हुँदै आएको थियो ।