काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन थप समय माग गरेका छन् ।
प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन तयारी गरेको भए पनि अझै छलफल गर्न आवश्यक भएको बताउँदै समय माग गरेका हुन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकलाई समितिबाट पारित गर्न केही विषयमा थप स्पष्ट हुनुपर्ने भन्दै मन्त्री गुरुङले समय माग गरेका हुन् । कानुनमन्त्री गुरुङले विधेयकमा धेरै विषयमा सहमति भइसकेको भए पनि केही कुरा स्पष्ट हुन जरुरी रहेको बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई पीडितले न्याय पाउने गरी आपसमा सहमति गरेर अन्तरराष्ट्रिय मापदण्डअनुसार विधेयक बनाउनुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा पीडितले न्याय पाउने कुराको सुनिश्चित हुनुपर्ने बताए ।
बैठकमा समितिका सदस्यहरु सुशील शर्मा, रञ्जुकुमारी झा, नैनकला थापा, नागिना यादव, सोविता गौतम, सन्तोष परियारले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो टुङ्ग्याएर पीडितलाई न्याय दिनुपर्ने बताए । बैठकपछि समितिका सभापति विमला सुवेदीले समितिको आगामी बैठकमा विधेयकका बारेमा उठेका विषयहरु समेटेर तयार पारिएको एकीकृत मस्यौदा पेस गर्ने र पारित गर्ने बताए ।