काठमाडौं । मानसिक स्वास्थ समस्याले समाजमा विकराल रुप लिन थालेको भन्दै सरोकारवाला तथा विज्ञहरूले यस विषयमा सरकार तथा नागरिक तहबाट गम्भीर कदम चाल्नुपर्ने औंल्याएका छन् ।
रोटरी क्लब अफ काठमाण्डौ र आध्यात्मिक पत्रकार समाजद्वारा मानसिक स्वास्थ्य सचेतनाका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले कानुन र सरकारी रणनीतिमा मानसिक स्वास्थ न्यूनीकरणका लागि आवश्यक थुप्रै प्रावधान भए पनि कार्यान्वयन भने फितलो रहेकोे बताए ।
अन्तरक्रिया कार्यक्रममा सांसद डा. तोसिमा कार्कीले एन्जाइटी तथा डिप्रेसन जस्ता मानसिक स्वास्थ्य सम्बन्धी समस्याकै कारण दैनिक रूपमा १७ देखि १९ जना सम्मले आत्महत्या गरिएको तथ्याङ्कले देखाएको बताइन् । सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसकेको भन्दै डा.कार्कीले हरेक स्वास्थ सेवा प्रदायक संस्थाले सबै किसिमका उपचार पद्धति अपनाएर एकीकृत उपचार योजनामा जानुपर्नेमा आफूले जोड दिइरहेको जानकारी गराइन् ।
डा. प्रदीप पाण्डेले विश्वस्वास्थ संगठनकै तथ्यांकले पैंतीस प्रतिशत वयस्कमा इन्जाइटी देखिएको र हरेक आठ जना मध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेकोे बताए। डा.पाण्डेले यो समस्या भएका व्यक्तिले समस्या नखोल्ने र खुलेर आफ्ना समस्या माथि नबोल्ने हुनाले आगामी दिनमा भित्र भित्रै दोश्रो महामारीको रुप लिन सक्ने संकेत गर्दै यसबाट हुन सक्ने व्यक्तिगत,पारिवारिक र सामाजिक खतरा कम गर्न व्यापक जनचेतना र चर्चाको आवश्यकता रहेकोे कुरामा जोड दिए।
आध्यात्मिक वक्ता स्वामी आनन्द अर्हतले वैदिक कालदेखि नै मनोवैज्ञानिक समस्या र मानसिक त्रासको अवस्था कायम भएको स्मरण गराउँदै ध्यान,ज्ञान र आध्यात्मिक बोधबाट नै शान्ति मिल्न सक्ने बताए ।
डा.हर्सना श्रेष्ठले नेपालमा हालसम्म मात्रै ४० जना क्लिनिकल साइकोलोजिस्ट रहेकोे भन्दै मानसिक स्वास्थ उपचारका लागि योग्य जनशक्तिको अभाव नै अहिलेको ठूलो समस्या रहेकोे औंल्याइन् ।
युवा अभियन्ता रन्जु दर्शनाले यो समस्याले व्यक्ति हुँदै परिवार र सिंगो समाजलाई आक्रमण गर्ने भएकाले कानुन र रणनीतिमा भएका प्रावधानलाई सशक्त रुपले कार्यन्वयन गर्दै शारीरिक तथा मानसिक स्वास्थका समस्या प्रती सामूहिक प्रयत्न गर्न सबैलाई आग्रह गरिन् ।
आयोजक संस्था रोटरी क्ल्ब अफ काठमाडौंका अध्यक्ष किशोर उप्रेतीले स्वस्थ्य समाज निर्माणका लागि मानसिक स्वास्थ सचेतनाका कार्यक्रम अत्यावश्यक देखिएकोले अभियानकै रुपमा सञ्चालन गरिने बताए ।