काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक अहिले बसिरहेको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्र गरेको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो ।
साथै सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । उक्त घटनाबारे यथार्थ पत्ता लगाएर दोषीलाई कारबाहीको माग गरिएको हो ।
त्यसैगरी लुम्बिनीस्थित रामग्राम क्षेत्रलाई भाडामा लगाउने गरी भएको सम्झौताको पनि प्रतिपक्षले विरोध जनाएको छ । त्यस्तै, मिटरब्याजपीडितहरुले काठमाडौँमा प्रदर्शन गरिरहेको विषयमा पनि प्रमुख प्रतिपक्षले सरकारसँग जवाफ माग गरेको छ । लम्पी स्किन रोगका कारण पशु चौपाया मरेका किसानलाई सरकारले क्षतिपूर्ति दिने भनेकोमा हालसम्म उपलब्ध नगराएको विषय पनि प्रमुख सचेतक गिरीले उठान गरे ।
त्यस्तै, प्रतिपक्षले संसदमा उठाएका विषयलाई सरकारले उपेक्षा गरेको पनि प्रमुख सचेतक गिरीको भनाइ थियो । “हामी संसद अवरोध होस् भन्न चाहँदैनौं । प्रतिपक्षले मर्यादित ढङ्गले संसदमा आफ्ना कुरा र माग राख्दा सम्बोधन नहुने र सरकारबाट उपेक्षा भइरहेको छ । सरकारले हाम्रा माग सुनिदिने हो भने संसदमा विरोध गर्नुपर्ने अवस्था आउँदैनथ्यो”, उनले भने ।
प्रतिपक्ष दलहरुले यसअघिका बैठकमा उठाएका मागहरु सम्बोधन गर्न संसदबाट रुलिङ भइसकेको सभामुख देवराज घिमिरेले उल्लेख गरे । “सरकारको उपस्थितीमा संसद सञ्चालन हुने व्यवस्था छ । विषयगत मन्त्रालयका मन्त्रीहरु संसदमा उपस्थित हुनुहुन्छ र उहाँले जवाफ दिनुहुन्छ । हरेक दिन एउटै विषयमा निर्देशन दिइरहनु वाञ्छनीय हुँदैन । प्रधानमन्त्री उपस्थित भएर जवाफ दिनुपर्ने भन्ने प्रतिपक्षको मागबारे संसदको ध्यानाकर्षण भएको छ”, सभामुख घिमिरेले भने ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।
त्यसैगरी, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।