काठमाडौं । नेपालमा पहिलोपटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको सुरुवात भएको छ । ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा सिविन नेपालको साझेदारीमा स्थापित सो इकाईको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आज उद्घाटन गरे ।
सो इकाईको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राम्रा काम गरेमा सहयोगी मन जतिपनि पाउन सकिने धारणा राखे । बस्नेतले राम्रो काम गरेको खण्डमा विदेशी दातृ निकायले समेत सहयोग गर्ने बताउँदै राम्रा कामको सुरुवात माथिबाट नै सुरु गर्नुपर्ने धारणा राखे ।
बालअधिकारको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत ख्याती कमाएको नेपालको प्रतिष्ठित संस्था सिविन नेपालको विश्वसनीयताका कारण नै अन्तर्राष्ट्रिय संस्थाले सहयोगी हात बढाएको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले आगामी दिनमा अझै जनताको विश्वास र भरोसा जितेर काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले सिविन नेपालले सन् २०१५ मा पहिलोपटक कान्ति बाल अस्पतालमा बालबालिकाका लागि मानसिक स्वास्थ्य सेवा सुरुवात गरेको बताइन् । तुलाधरले हाल आएर मानसिक अस्पतालमा किशोरकिशोरीका निम्ति छुट्टै स्वास्थ्य इकाई सुरु गर्न पाउँदा खुशी लागेको बताइन् ।
सरकारले आउँदो बजेटमा बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारका निम्ति छुट्टै दरबन्दी व्यवस्था गर्न तुलाधरले आग्रह गरिन् ।
डा. अरुणराज कुँवर नेतृत्वमा सो इकाईमा किशोरकिशोरी मनोचिकित्सक, मनोचिकित्सक, चिकित्सा मनोविद्, मेडिकल अधिकृत, नर्सिङ अधिकृत, विशेष शिक्षक, सामाजिक कार्यकर्ता, स्टाफ नर्स लगायत ३० जना जनशक्ति रहने बताइएको छ ।
इकाईमा बहिरंग तथा अन्तरंग सेवा प्रवाह गर्न ६ वटा जनरल र ६ वटा सेमि जनरल गरी १२ शैया उपलब्ध रहेको छ । उक्त इकाईमा आउने किशोरकिशोरीहरुले व्यक्तिगत हेरचाह समेत पाउने बताइएको छ ।