काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह बालेनले निर्माणाधिन धरहरामुनि पार्किङ बन्द गर्न संघीय सरकारले लेखेको पत्रप्रति आक्रोस व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा सोमबार विहान स्टाटस लेख्दै केही दिन अगाडि धरहरामा सर्वसाधारणका लागि पार्किङ खुल्ला गर्दा त्यसलाई बन्द गर्ने आदेशपूर्ण पत्रको सट्टा निर्माण नै सम्पन्न नभइ उद्घाटन गर्ने निर्लज्जहरुलाई पत्र लेख्नु उपयुक्त हुने बताएका छन् ।
बालेनले लेखेका छन्, ‘उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’
उनले तोकिएको समयमा निर्माण भइनसक्दै भित्तामा नाम लेख्न हतारो गर्ने तत्कालिन प्रधानमन्त्री केपी ओलीको प्रबृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।’
धरहरामा रहेको उक्त पार्किङ स्थान बन्द नहुने बताउँदै उनले महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन भएको र यसलाई अझ व्यवस्थित बताउँदै लगिने समेत बताएका छन् । उक्त पार्किङ क्षेत्रमा विचौलिया र ठेकेदारहरुले नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसायले रहेको बताउँदै उनले आफू काठमाडौ महानगरपालिकामा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने बताएका छन् ।
उनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने कुनै पनि कदममा ख्याल ठट्टा नगर्न चेतावनी समेत दिएका छन् ।
२०७८ वैशाख ११मा तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन भएको धरहरा ऐतिहासिक धरहरा नभएर यो केवल सेतो टावर मात्र भएको बताउँदै बालेनले राणाकालिन अवस्थामा भएको भए केपी ओलि टावर भन्थ भनी कटाक्ष समेत गरेका छन् ।