काठमाडौं । रवि लामिछानेको नेपालको राजनीतिक परिवर्तनमा कुनै योगदान नभएको विश्लेषक गणेशकुमार मण्डलले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम ‘फ्रन्टलाइन’मा कुराकानी गर्दै नेता मण्डलले रवि लामिछानेका ०६२/०६३ को आन्दोलन तथा मधेश आन्दोलन लगायतका कुनै पनि राजनीतिक परिवर्तनमा योगदान नभएको बताए ।
उनले भने, ‘रवि लामिछानेको न कुनै राजनीतिक परिवर्तनमा योगदान छ, न कुनै युवालाई रोजगार सिर्जना गर्नेमा योगदान छ, न सुशासन सिर्जना गर्नेमा योगदान छ । उ नेपालको नागरिक पनि होइन, अमेरिकाको पासपोर्टमा नेपाल आएको मान्छे चुनाव लडेर हाम्रो स्वतन्त्र उम्मेदवारी एजेण्डा चोरेर पार्टी चलाएर आयो ।’
रवि लामिछानेको अमेरिकामा समेत विभिन्न खालका काण्ड रहेको बताउँदै मण्डलले यस्तो चरित्रले नेपाली समाजमा कुनैपनि सकारात्मक सन्देश दिन नसक्ने बताए ।
मण्डलले लामिछानेले नेपाली समाजलाई ठगी गरेको आरोप लगाउँदै २०८४ सम्ममा रवि लामिछानेको कुनै राजनीतिक हैसियत नहुने तर्क गरे ।
अर्काे प्रसङ्गमा बोल्दै मण्डलले तराईको राजनीतिक तीन किसिमले चलेको बताए । उनले शक्ति, जातीय क्लष्टर र पैसा जो सँग कायम हुन्छ, त्यसले नै तराईको राजनीतिलाई नेतृत्व गर्दै आएको बताए । पछिल्लो समयमा सिके राउत तीनवटै पक्षमा कमजोर देखिएको बताउँदै मण्डलले राउतले उठाएको एजेण्डा कमजोर भएको तर्क गरे ।
विगतमा मधेशका नाममा पूराना दलहरुले जे गरेका थिए, त्यो भन्दा पनि बढी सिके राउतले पनि गर्न थालेकाले उनको कुनै अस्तित्व नरहेको मण्डलले बताए ।