काठमाडौं । रवि लामिछानेविरुद्ध कम्पनी रजिष्टार कार्यालयबाट सार्वजनिक गरिएका प्रमाणहरु सही भएतापनि त्यसको कानुनी पाटा र प्रक्रियाहरु स्पष्ट नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता साजन विकले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम ‘फ्रन्टलाइन’मा कुराकानी गर्दै नेता विकले श्वेत शेयर स्थानान्तरण गर्न कुनै स्पष्ट कानुन नभएका कारण रवि लामिछानेले प्रक्रिया मात्र पूरा गरेको बताए ।
उनले शेयर स्थानान्तरण गर्न गरिएको प्रक्रिया यदि नेपालको कानुन र संविधान विपरीत ठहर्छ भने रवि लामिछाने कानुनको कठघरामा उभिनुपर्ने बताए ।
उनले भने, ‘नेपालको प्रचलनमा आएको व्यवहारिक पक्षमा आएका पाटोलाई केलाएर सिंगो एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई सक्काउने जुन खालको प्रपञ्च छ, यो चाहिँ गलत छ ।’
प्रक्रियागत रुपमा भएका त्रुटीका कारण रवि लामिछानेले सहकारीको पैसा खाएको भनी भास्य सिर्जना गर्न खोज्नु गलत भएको नेता विकले टिप्पणी गरे ।
प्रक्रियागत रुपमा गरिएका त्रुटीलाई स्वंय रवि लामिछानेले समेत स्वीकार गरिसकेको अवस्थामा यो बिषयलाई अनावश्यक रुपमा तोडमोड गरेर कुनै एक व्यक्तिमाथि खनिनु कुनैपनि हालतमा सही नभएको बताउँदै नेता विकले समाजमा परिवर्तन र रुपान्तरका लागि केही गर्छु भनेर अगाडि आएको युवालाई चौतर्फी हमला गरेर लाग्ने मिडिया माफियाको हर्कत देखेर आफूलाई दया लागेको बताए ।
सहकारीबाट पीडितलाई न्याय दिने सवाल र बचतकर्ताको बचत फिर्ता गराउने सवालमा आफ्नो पाटीले सडक, सदन र सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको बताउँदै नेता विकले पीडितहरुको पक्षमा जुनसुकै हदसम्म उभिन आफूहरु तयार रहेको बताए ।
उनले भने, ‘यो हमला अहिले सिंगो राष्ट्रिय स्वतन्त्र पार्टीमाथिको प्रहार हो, पार्टीको नेतृत्वमाथि हमला गर्नु भनेको सिंगो राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर बनाउनु हो । यो सिंगो राष्ट्रिय स्वतन्त्र पार्टीलाई धरासयी बनाएर जनता र राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धलाई कमजोर बनाउने प्रयास हो ।’
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा हजारौं रवि लामिछाने जन्मिसकेको बताउँदै नेता विकले यदि रवि लामिछाने दोषी ठहर भएमा कानुनी सजाय भोग्न तयार रहेको बताए ।