काठमाडौं । अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहलाई हत्या अभियोगमा पक्राउका लागि अदालतले अनुमति दिएपछि माओवादी बृत्तमा फेरि एकपटक तरङग पैदा भएको छ ।
१५ वर्ष अगाडि भएको हत्याको घटनालाई लिएर पञ्चासहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले गत शुक्रबार अनुमति दिएपश्चात अहिले यो घटनाका बारेमा सर्वत्र चासो र सरोकार बढ्न थालेको छ ।
अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह सहित सो घटनामा संलग्न भएको भन्दै पीडित पक्षले दिएको उजूरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको छ ।
यस बिषयमा अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन भुलले सुनियोजित ढंगले घटनालाई अगाडि बढाउन थालिएको अरोप लगाए । क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम ‘फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले भने, ‘जुन प्रकारले आरोप लगाइएको छ । त्यो कपोपल्पित रहेको छ । यो झुटो मुद्दा हो, यसमा गोरु बेचेको समेत कुनै साइनो छैन ।’
भूलले माओवादी पार्टीलाई बदनाम गराउन मनसायले अहिले यो घटनलाई अगाडि बढाइएको बताए । उनले भने, अहिले पीडित पक्षले दिएको उजूरी र घटनाका बीचमा कुनै पनि मेल खाँदैन ।’
भूलले कुनैपनि व्यक्तिलाई झुटो मुद्दामा पक्राउ गर्नु गैरकानुनी भएको बताउँदै सिंहलाई विना कारण पक्राउ पूर्जी जारी हुनु मानवअधिकार विरोध भएको बताए ।
उनले सुर्खेतको जनमाविमा अध्ययनरत कालीकोटका १७ वर्षीय राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।
बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी पञ्चा सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।