टक्सार । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् ।
पछिल्लो समय दुई–तीन परिवारले मात्र पुरानो पेसा अँगाल्दै आइरहेका छन् । स्थानीय बुद्धराज शाक्य लगायतले मात्र अहिले धातुका सामग्रीहरू माग भएमा बनाउँदै आएका छन् । टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनः अभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोत साधन उपलब्ध हुनुपर्ने गराउन जरुरी रहेको स्थानीय विमलकुमार शाक्यको भनाइ रहेको छ ।
इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर स्थानीयवासी तथा कालिगडहरू समेत पलायन हुने क्रम बढेकाले अहिले टक्सारको धातु व्यवसाय नै जोगाउन मुस्किल परेको स्थानीय सानुकाजी शाक्यले बताए ।
‘धातु उद्योगले कच्चापदार्थ कोइला (गोल), मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेको छ । राणा शासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ,’ उनले भने ।
कालिगढ विस्थापनसँगै टक्सार बजारले मागअनुसारका सामग्री उत्पादन गर्न नसकेपछि अहिले तराईका जिल्लाहरूबाट नै पसलहरूमा बिक्रीका लागि धातुका सामग्रीहरू आउने गरेका छन् । विगतमा जस्तो टक्सार बजारमा धातु व्यवसाय पनि नभएको कारण बिक्रीका लागि बाहिरबाट नै सामग्रीहरू आउने गरेका व्यवसायी नवराज श्रेष्ठले बताए । ‘जनशक्ति अभावमा मागअनुसार टक्सारले सामग्री नै उत्पादन गर्न सक्दैन,’ उनले भने ।
टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन् । यहाँ निर्मित करुवालगायत हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत र भारतको दार्जिलिङ, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले हालै भोजपुरको टक्सारको धातु व्यवसायको समस्याका बारेमा धातु व्यवसायीहरू चासो राखेका थिए । टक्सार बजारका पुराना धातु व्यवसायी शाक्यले काँसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउँछन् । करुवा, कलश, कचौरा, गाग्रीलगायत सामानहरू आफूले बनाउँदै आएको शाक्यले बताए।
ऐतिहासिक कलामा पोख्त कालिगडहरू पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ । व्यवसायी शाक्यले भने ‘कालिगडको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चापदार्थहरू र कोइला ढुवानी गर्दा महँगोसमेत हुने भएकाले पनि टक्सारबाट कालिगढहरुको विस्थापन हुने क्रम बढेको छ ।’