काठमाडौं । मुलुकका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका बेला नुवाकोटको तारकेश्वरमा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु गरिएको छ ।
तारकेश्वर गाउँपालिका–३ को चन्दनीस्थित सार्वजनिक जग्गामा सरकारी भवन र केही मन्दिर रहेकामा बाँकी जग्गाको नापनक्सा गरी संरक्षण थालनी भएको स्थानीय कृष्णमान प्रधानले राससलाई जानकारी दिए ।
चन्दनीका स्थानीयले संरक्षणका लागि समिति गठन गरी पालिकाबाट नापी र मालपोतबाट प्रतिनिधि खटाई जग्गाको नापजाँच थालेका छन् । सार्वजनिक जमिनमा कुनै व्यक्तिले कुनै संरचना बनाएका भए त्यसलाई हटाउन सार्वजनिक सूचना गरेका छन् ।
जमिनको नापजाँच गरी सार्वजनिक जग्गा कायम गरी साविकबमोजिम बाटो, मन्दिर र उद्यान निर्माणमा सहयोग गर्न स्थानीयले पालिकासँग अनुरोध पनि गरेको स्थानीय प्रधानले बताए ।
सरकारी जग्गाका रेखाङ्कन गर्ने क्रममा कुनै निजी भवन बनाएको तथा जग्गा अतिक्रमणमा परेको पाइएमा सार्वजनिक जग्गाको लगत व्यवस्थापन गर्दै सार्वजनिक हितका लागि सामूहिक प्रयास गर्ने स्थानीयको प्रतिबद्धता जाहेर भएको छ ।
पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना भएको चन्दनी र त्यहाँबाट देखिने मनोरम दृश्यसम्बन्धी प्रचार–प्रसार गर्ने विषयलाई पनि स्थानीयले जोड दिएका छन् । सोही क्रममा त्यस क्षेत्रबाट काठमाडौँ आएर विभिन्न पेसा व्यवसाय आबद्ध स्थानीयको भेलाले चन्दनीको विकास, धार्मिकस्थल र सार्वजनिक जग्गाको संरक्षणका लागि आ–आफ्नो ठाउँबाट प्रयास गर्ने निर्णय गरेको छ ।
सडक विस्तारका क्रममा भत्काइएका ऐतिहासिक एवं पुरातात्विक महत्वको गोरखकाली मन्दिर निर्माणका लागि स्थानीय निकायले विनियोजन गरेको बजेट तत्काल निकासा गरिदिन पालिकासँग अनुरोध गरेका छन् । उक्त मन्दिर निर्माणका लागि स्थानीय निकायले रु पाँच लाख सहयोग गर्ने र बाँकी रकम चन्दा सङ्कलनबाट जुटाइने बताइएको छ ।