काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष, पूर्व मन्त्री एवं संघीय सांसद एकनाथ ढकालले बिहीबार श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग श्रीलंकाको कोलम्बोमा भेट गरेका छन्।
भेटमा सांसद ढकालले श्रीलङ्का सरकारले नेपालसँग विशेषगरी पर्यटन र साझा सांस्कृतिक मूल्यमान्यताका क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्न प्रस्ताव गरेका छन्। ढकालले प्रधानमन्त्री दिनेशलाई लुम्बिनीमा नयाँ खोलिएको अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल)बारे जानकारी दिँदै कोलम्बोदेखि लुम्बिनी सिधा उडानका लागि श्रीलंका सरकारको सहयोग मागेका थिए ।
श्रीलंकाका सभामुख महिन्दा यापा अबेवर्देनको निमन्त्रणामा ढकाल श्रीलंकाको चार दिने मैत्रीपूर्ण भ्रमणमा छन् । ढकालले श्रीलंकाका सभामुख आबेवर्देनासँगको शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीचको संसदीय आदानप्रदानका बारेमा छलफल गरेका थिए ।
नेपालको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य समेत रहेका ढकालले श्रीलङ्काको संसद्को कमिटी रुम ०१ मा आयोजित “कार्यमा जवाफदेहीताः संसद् सदस्यहरूबीच पारदर्शिता र सुशासनको प्रवर्द्धन” शीर्षकमा आयोजित विशेष सम्मेलनलाई पनि सम्बोधन समेत गरे।
सम्मेलनलाई सम्बोधन गर्दै नेपालका सांसद तथा इन्टरनेशनल एसोसिएसन अफ पार्लियामेन्टेरियन्स फर पिस (आइएपीपी) का एशिया प्यासिफिक अध्यक्ष समेत रहेका ढकालले लोकतान्त्रिक संस्थाको विश्वसनीयता नागरिकले निर्वाचित पदाधिकारीमाथिको विश्वासमा निर्भर रहेको बताए ।
उनले एसिया(प्रशान्त क्षेत्रमा, जहाँ विविध संस्कृति र राजनीतिक प्रणालीहरू सहअस्तित्वमा छन्, जवाफदेहीताको आह्वान गहिरो रूपमा प्रतिध्वनित भएको र यो दिगो विकास र क्षेत्रीय स्थायित्वको आधार भएको उल्लेख गरे।
सांसद ढकालले दक्षिण एसियालाई जीवन्त र जटिल दुवै उपक्षेत्रका रुपमा व्याख्या गर्दै दक्षिण एसिया प्रगति र चुनौतीको चौरमा रहेको बताए । उनले सांसदहरूबीच जवाफदेहितालाई बढावा दिनुपर्ने आवश्यकता मात्र नभई क्षेत्रीय सहयोग र सामञ्जस्यपूर्ण विकासलाई अगाडि बढाउन उत्प्रेरकको रूपमा पनि हेर्नुपर्ने बताए ।
ढकालले क्षेत्रीय सङ्गठन सार्कको निष्क्रियताप्रति दुःख व्यक्त गर्दै दिगो, समावेशी र लचिलो दक्षिण एसियाको निर्माणका लागि सार्कको संस्थापक आदर्शलाई कायम राख्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे। आफ्नो देश नेपालको बारेमा कुरा गर्दै ढकालले नेपाललाई इतिहासको धनी टेपेस्ट्री र लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध राष्ट्र भएको बताए ।
उनले विभिन्न चुनौतीका बाबजुद नेपालको महत्वपूर्ण लोकतान्त्रिक यात्रालाई उजागर गरे । ढकालले भने, ‘विश्वभरका नागरिकले जस्तै नेपालका नागरिकले पनि आफ्नो सरकार र निर्वाचित प्रतिनिधिसँग पारदर्शिता र जवाफदेहिताको माग गरेका छन् ।
सम्मेलनमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, सभामुख महिन्दा यापा अबेवर्देना र पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाको उपस्थिति थियो । श्रीलंका र एसिया प्यासिफिक क्षेत्रका सांसदहरू उपस्थित थिए। कोलम्बोमा रहँदा सांसद ढकालले पूर्वराष्ट्रपति महिन्दा राजपक्ष र विपक्षी दलका नेता सजित प्रेमदासासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनले बौद्ध मन्दिर, बेलनविला राजमाहा विहारको पनि भ्रमण गरे र आदरणीय डा.बेलनविला धम्मरतन नायक थेरालाई भेटेका छन्।