काठमाडौं । काठमाण्डौको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न गएका सुरक्षाकर्मीमाथि स्थानीयबासिन्दाले ढुङ्गामुढा गरेका छन् ।
शुक्रवार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेका हुन् । स्थानीयको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न १० जनालाई पक्राउ गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटकपटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले काठमाण्डौको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधीन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समिति, काठमाण्डौको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो ।
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव दिनेशकुमार घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीले पटकपटक जायज माग पूरा गर्ने र सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि सहमति जनाउन आग्रह गरेका थिए । स्थानीयवासी र उनीहरूका प्रतिनिधिलाई वार्तामा सहभागी भए पनि कुनै पनि विषयमा सहमति जनाउन अटेर गरेको मन्त्रालयको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ मा रहेको बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाण्डौ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००–२२०–१३–११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।