काठमाडौँ । अवैध लागूऔषध खैरो हेरोइन दुई सय ४४ ग्राम, नाइट्रोभेट एक सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार चार सय १५ क्याप्सुलसहित छ जनालाई नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–३ बस्ने ३८ वर्षीय गङ्गालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका–१४ बस्ने ३७ वर्षीय झरेन्द्रबहादुर ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २७ वर्षीय सन्दिप इटानी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरूमध्ये सपना रायमाझी र गङ्गालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोइन ८१ ग्राम पाँच सय मिलिग्रामसहित काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट कात्तिक १५ गते, दीपक श्रेष्ठ र दीपेश डङ्गोल महर्जनलाई लागूऔषध खैरो हेरोइन एक ग्राम आठ सय मिलिग्राम, ट्रामाडोल १७ हजार चार सय १५ क्याप्सुल र नाइट्रोभेट एक सय १२ ट्याब्लेटसहित काठमाडौँ चावहिलबाट कात्तिक १६ गते पक्राउ गरिएको हो । यसैगरी झरेन्द्रबहादुर ठकुरी र सन्दिप इटानीलाई लागूऔषध खैरो हेरोइन एक सय ६० ग्राम छ सय मिलिग्रामसहित काठमाडौँ तारकेश्वर नगरपालिका–४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं, महानगरपालिका–१४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा छ सय एम्पुल, चक्कु दुई थान, विभिन्न कम्पनीका मोबाइल तीन थान र नगद ५७ हजार छ सय रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका–११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय रामचन्द्र चमार समेत तीन जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
जुवा खेल्दा खेल्दै सात जना पक्राउ
बूढानीलकण्ठ नगरपालिका–११ कपन खरिबोटस्थित सुलभ ९नमस्ते० रेष्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३५ वर्षीया मिरू तामाङसमेत सात जनालाई नगद रु २३ हजार छ सय ८० र आठ दाना ओखरसहित पक्राउ गरेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।