२०८० कार्तिक १७ गते शुक्रबार राती पश्चिम नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट केन्द्रविन्दू बनाएर ६.४ म्याग्नीच्यूडको भूकम्प गयो । भूकम्पले उक्त क्षेत्रमा सोचिएको भन्दा धेरै क्षति पु¥याएको देखिन्छ । भूगोल र भूकम्प गएको समय मध्यराती भएकाले पनि उक्त क्षेत्रमा पुगेको क्षति अनुपातमा बढी नै हो ।
आजभन्दा ८ बर्ष अगाडि २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्प विहान ११ बजेर ५६ मिनेटमा गएको थियो । उक्त भूकम्पका कारण ८ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने ३५ लाख मानिसहरु घरबारविहीन भएका थिए ।
शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति फेरि मानिसको ध्यान भूकम्पतिर गएको छ ।
पश्चिम नेपालको भूसतहमुनि ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएको भन्दै विज्ञहरूले त्यसले आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने भएकाले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिँदै आएका थिए ।
हालैका महिनामा पश्चिम नेपालका जिल्लाहरूलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका थिए । विज्ञहरूले पाँच सय वर्षअघि महाभूकम्प गएको उक्त क्षेत्रमा आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको शक्तिशाली भूकम्पको जोखिम रहेको बताउँदै आएका थिए ।
पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरुको तर्क छ । त्यही कारण पनि नेपालमा भूकम्पको जोखिम रहेको उनीहरुको बुझाइ छ ।
अघिल्लो महिना बझाङमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते भएका थिए ।
नेपालमा अहिलेसम्म गएका ठूला भूकम्प :
विक्रम सम्बत १९९०
वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकाङ्स भागमा महाभूकम्प गएको थियो । त्यस दिन सूर्य, चन्द्र, मङ्गल, बुध, शनि, राहु र शुक्र समेत मकरराशिमा सातओटा ग्रह एकै रेखामा परि गोलयोग परेको कुरा पहिले नै ज्योतिषीहरू भविष्यवाणी गरेका थिए । उनीहरुले नेपालमा ठूलै उत्पातको भविष्यवाणी गरेका थिए ।
विक्रम सम्वत् १९९० को भूकम्पको केन्द्रविन्दू पूर्वी नेपालको चैनपुरमा थियो । उक्त भूकम्पले काठमाडौदेखि भारतको विहारसम्म ठूलो क्षति भएको थियो ।
यस भूकम्पमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त्र भएका थिए । उक्त भूकम्पले १६ हजार ८७५ जनाको ज्यान लिएको थियो भने ३ हजार ३१९ जना गम्भीर रूपमा घाइते भएका थिए । पशुपन्छीको क्षति के कति भयो भन्नेमा लेखाजोखा थिएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पीडितद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा, निब्र्याजी ऋृण सुविधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।
यसबाट काठमाडौ उपत्यकामा आधुनिक किसिमबाट पुनर्निर्माण भयो । उनले भूकम्पको स्थितिबाट पार पाउन मुलुकीखानाबाट ५० लाखको चादी लिइ डेढ करोड बराबरका मुद्रा बनाएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति चर्केको थियो ।
विक्रम सम्बत २०४५
वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा अर्काे ठूलो भूकम्प गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पको झड्का पूरै नेपालभर महसुस गरिएको थियो । ६.७ रेक्टर स्केलको उक्त भूकम्पमा परी करिब ७५० जना मानिसले ज्यान गुमाए भने ६ हजार ५०० भन्दा बढी घर ध्वस्त भएका थिए । त्यसले पूर्वी नेपालमा नराम्रो क्षति पु¥याएको थियो भने काठमाण्डौ उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।
विक्रम सम्बत २०६८
विसं २०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजंगा हिमाल क्षेत्रलाई केन्द्रविन्दू बनाएर ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसले नेपाल भारत भूटान बंगलादेश चीन लगायतका देशमा समेत महसुस गरिएको थियो ।
विक्रम सम्बत २०७२
आजभन्दा ८ बर्ष अगाडि २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्प विहान ११ बजेर ५६ मिनेटमा गएको थियो । उक्त भूकम्पका कारण ८ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने ३५ लाख मानिसहरु घरबारविहीन भएका थिए ।
त्यस्तै वैशाख २९ गते दिउँसो १२ः५० मिनेट जाँदा देश भर निकै ठुलो भूकम्पको झड्का महसूस गरिएको थियो । नेपालको कोदारी समीप दोलखाको सुनखानी केन्द्रविन्दू बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्प पूरा नेपाल तथा भारत बङ्गलादेश चीनमा समेत महसूस गरिएको थियो सो भूकम्प पछि दर्जनौ अन्य साना ठूला भूकम्पका पराकम्पनहरू महूसस गरिएका थिए ।
विक्रम सम्बत २०७९
कार्तिक २२, २०७९ नेपाली समय अनुसार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गयो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दू बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले पश्चिम नेपाल र उत्तर पश्चिमी भारतमा क्षति पु¥यायो । नेपालको डोटी जिल्लामा चार जना बालबालिका सहित ६ जना मानिसको मृत्यु भयो । उनीहरू घर भत्किदा पुरिएर उनीहरूको मृत्यु भएको थियो । १२ जना घाइते भएका छन्, जसमध्ये पाँच जना गम्भीर घाइते भएका थिए भने दर्जनौ घरमा क्षति पुगेको छ ।
नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा गएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्पको इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
नेपालमा भूकम्पको इतिहास
१२१८ को भूकम्प
वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो
१३१६ को भूकम्प
यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पु¥याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।
१४६५ को भूकम्प
करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढलेका इतिहासले देखिन्छ । जमीनमा ठूलठूला धाँजा फाटेका थिए । जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाएका थिए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।
१७३७ देखिका भूकम्प
नेपालमा अन्य थुप्रै पटक भूकम्प गएको भनाइ रहेको भएतापनि प्रामाणिक तिथि मिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के–कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौँ र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्याङ्क नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।
१८९० को महाभूकम्प
वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भएका थिए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो । काठमाडौँमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।
यसरी भूकम्पको इतिहासलाई हेर्ने हो भने नेपालमा ठूला साना गरी निरन्तर रुपमा भूकम्प गइरहेका देखिन्छन् । सोही कारण पनि विज्ञहरुले नेपाल भूकम्पीय जोखिको क्षेत्रका रुपमा रहेको बताउँदै आएका हुन् । विज्ञहरूले कमजोर भौतिक संरचनाका कारण भूकम्पबाट ठूलो जनधनको क्षति निम्त्याउने गरेको भन्दै त्यसमा सुधार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
भर्खरै जाजरकोटमा गएको भूकम्पको क्षतिलाई ध्यान दिएर भूकम्पबाट सुरक्षित कसरी हुन सकिन्छ भन्नेमा पूर्व सचेतना अभिबृद्धि गर्नु जरुरी छ । - एजेन्सीको सहयोगमा