काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।
योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।
साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिएका थिए ।
यसअघि मलेसियाको युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।
नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रन बनाएर आउट भएका थिए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाएका थिए ।
चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भएका थिए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।
साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक÷एक विकेट लिएका थिए ।