शुक्रबार साँझ ५ बजेसम्म कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा सदस्यहरुका लागि आव्हान गरेका थिए । यसको तयारी गठबन्धन भित्रका दलहरुले राम्रै गरेका थिए ।
उनीहरुले दुई पटकसम्म पनि विश्वासको मत लिएका तर संवैधानिक रुपमा गलत सावित भएका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई फेरिपनि मुख्य मन्त्रीमा अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेर माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई अगाडि बढाउने निधो गरेका थिए ।
यो निर्णय प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुको भने थिएन । उनीहरुले केन्द्रमा के गर्ने भनेर सोधेपछि, बालुवाटारमा बसेको गठबन्धनको बैठकले माओवादीको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेर सोही सन्देश कोशी प्रदेशमा पठायो । केन्द्रको यो सन्देश प्रदेश सभामा पुग्दा नपुग्दै गठबन्धनभित्रको ठूलो दल नेपाली कांग्रेसका केही सांसदहरुले भने त्यसको विरोध गर्दै केन्द्रको निर्णयलाईं चुनौती दिए । त्यसको नेतृत्व पार्टीका नेता शेखर कोइरालाले गरे ।
त्यति मात्र होइन, उनले केन्द्रदेखि प्रदेश सभासम्म प्रतिपक्षमा रहेको नेकपा एमालेको साथ र समर्थन लिने रणनीति अबलम्बन गरे । नभन्दै यो रणनीतिमा कोइराला सफल पनि भए र आफू पक्षधर ८ जना सांसद र एमालेको ३९ जना सांसदको समर्थनमा शुक्रबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी गर्दै केदार कार्कीलाई अगाडि सारे । यो एकखालको गठबन्धनको सालिन विद्रोह पनि थियो । यसलाई एमालेले गठबन्धनभित्र ल्याउन खोजेको हलचल र ठूलै धक्काको रुप लिने आंकलन पनि नगरिएका भने होइनन् ।
यो प्रक्रिया औपचारिक रुपमै अगाडि बढेपछि भने कोशी प्रदेशमा मात्र होइन, केन्द्रीय राजनीतिका बारेमा समेत विभिन्न अड्कलवाजी गरिन थाल्यो । कतिपयले त कोशी प्रदेशमा देखिएको नयाँ समिकरणले केन्द्रीय सत्ता समिकरणमा समेत बद्लाव आउन सक्छ भन्ने आंकलन पनि गरेका थिए । त्यसमा एमालेको विश्लेषण पनि कोशी प्रदेश सहित केन्द्रीय सरकारमा समेत यसले ठूलै हलचल ल्याउने अनुमान गरेको थियो । कतिपयले त पुष १० गतेको सहमतिलाई जसरी प्रचण्डले भत्काएर नयाँ समिकरण बनाएका थिए, त्यसलाई तोड्ने प्रारम्भिक अस्त्रका रुपमा एमालेले प्रयोग गरेको पनि बताएका थिए ।
तर शनिवार प्रदेश प्रमुखले कोइराला पक्षका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने घोषणा गर्नुपूर्व नै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शेखर कोइरालाबीच भएको अर्काे सहमतिको चिर्कटो सार्वजनिक भयो । त्यसमा गठबन्धनलाई कायमै राख्दै अगाडि बढ्ने मूल आसय व्यक्त भएको छ ।
त्यतिमात्र होइन, प्रचण्ड र देउवाले कार्कीलाई नै मुख्यमन्त्री स्वीकार गर्ने र विश्वासको मतपनि दिने बताएपछि फेरि कोशी प्रदेशको राजनीतिको सूइँ अर्काेतर्फ मोडिन सक्ने आंकलन पनि गर्न थालिएको छ । रणनीतिक रुपमा कोशी प्रदेशमा गठबन्धन अब (रक्षात्मक) डिफेन्सिप हुँदै अगाडि बढ्न थालेको देखिन्छ । यसको मूल योजनाकारका रुपमा देउवा अगाडि सरेपछि एमालेभित्र पनि फेरि शंसयको घेरा चाहिँ बाँकी नै रहेको देखिन्छ ।
हुन त कांग्रेसका काकीले मुख्य मन्त्रीको पदको सपथ लिएकै दिन एमालेका राम रानालाई पनि मन्त्री बनाएर एमालेलाई सरकारमा सहभागी गराएका छन् । अहिले कोशी प्रदेश सरकारमा एमालेको पनि प्रवेशलाई गठबन्धनले चाहेर पनि रोक्न सकेन ।
यो घटनाक्रमले भित्री रुपमा झस्किएपनि गठबन्धनभित्रका कांग्रेस र माओवादी रणनीतिक रुपमा अगाडि बढ्न खोजेको देखिन्छ । उनीहरु एमालेको साथ र समर्थन पाएर मुख्यमन्त्री बनेका केदार कार्कीलाई निःशर्त साथ र समर्थन गरेर कार्की र शेखर कोइरालालाई नैतिक रुपमा ठूलै दबाबमा राख्ने रणनीतिमा देखिन्छन् । त्यसमा अझ कांग्रेस सशक्त रुपमा अगाडि बढ्न खोजेको देखिन्छ ।
कोशीको पछिल्लो घटनाक्रमले ठूलै नैतिक दबाबमा परेका देउवाले सोमबार आफ्ना दुईजना महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा जो उनको कित्ताभन्दा पर बस्दै आएका थिए, अकस्मात डाकेर उनीहरुको मनसाय बुझ्ने कोशिस गरे । तर उनीहरुले कोशी घटनाक्रमको दोषको भागीदार स्वयं सभापति हुनुपर्ने तर्क गर्नुका साथै गठबन्धन जोगाउने हो भने जसरी पनि एमालेको साथ छोड्नुपर्ने तर्क गरेका थिए ।
यदि एमालेका साथ लिइरहने हो भने गठबन्धन भत्काउनुको कुनै विकल्न नभएको समेत महामन्त्रीद्वयले सभापतिलाई सुझाएका थिए । आफ्ना महामन्त्रीहरुको आसय बुझिसकेपश्चात देउवाले लिने रणनीति कस्तो होला ? त्यो हेर्न लायक नै देखिन्छ ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले अबको १ महिनामा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि उनले मुख्यमन्त्री नियुक्त भएको चौथो दिन कार्कीले कार्तिक १ गते विश्वासको मत लिन खोजेका छन् । उनले हतार गरेर विश्वासको मत लिन खोज्दा राजनीतिक रुपमा संशय पनि पैदा चाहिँ गरिदिएको छ । हेरौं त्यसपछिको राजनीतिक कोर्स कसरी अगाडि बढ्ला ? यसै भन्न सकिने अवस्था भने छैन ।