काठमाडौ । क्यापिटल टेलिभिजनले प्रसारण यात्राको ३ बर्ष पूरा गरेको छ ।
क्यापिटल मिडिया ग्रुप अन्तर्गत सिएमजी मिडिया नेपाल प्रा.लि.ले सञ्चालन गरेको क्यापिटल टेलिभिजन एचडिको तेश्रो बार्षिकोत्सवका अवसरमा टेलिभिजनका अध्यक्ष सुशील राउतले शुभकामना दिँदै आजको दिनले अझ थप जिम्मेवार, विश्वसनीय बनेर अगाडि बढ्न प्रेरणा समेत प्राप्त भएको बताए ।
राउतले शुभकामना दिँदै भने, ‘हामी थियौं, हामी छौं, र हामी हरपल हुनेछौं, सधैं उच्च उत्प्रेरणा र उत्तरदायित्वका साथ समर्पित रहनेछौं ।’
आम जनमानस माझ समयमै, सही र निष्पक्ष जानकारी प्रदान गर्नु हाम्रो दायित्व र जिम्मेवारी रहेको बताउँदै अध्यक्ष राउतले यसमा समसामयिक विषय, राजनीति, सामाजिक समस्याहरू, नेपालका साथै विश्वभर घटिरहेका घटनाहरूको रिपोर्टिङलाई प्राथमिकतामा राखिने बताए ।
राउतले खोज पत्रकारिताले भ्रष्टाचार, मानवअधिकार उल्लंघन, र समाजमा व्याप्त विकृति र विसंगतिलाई सार्वजनिक गर्दा सत्तामा रहेकाहरूलाई जवाफदेही बनाउन र पारदर्शिता बढाउन समेत मद्दत गर्नेमा आफू आशावादी भएको बताए ।
उनले मिडियाले विभिन्न विषयहरूमा आम जनमानसलाई शिक्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, ‘यसमा स्वास्थ्य, शिक्षा, वातावरण, र अन्य सान्दर्भिक विषयहरूमा सचेतना सिर्जना गर्न र सूचित निर्णय लिने प्रबर्द्धन गर्न जानकारी प्रदान गरिनेछ ।’
उनले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको प्रबद्र्धनमा मिडियाले खुला बहस, छलफल र विविध विचारहरूको अभिव्यक्तिको लागि मञ्चको रूपमा काम गर्ने बताए ।
अध्यक्ष राउतले सञ्चार माध्यमले सरकार र नागरिकबीच सञ्चार र अन्तरक्रियालाई सहज बनाउने पुलको रूपमा काम गर्नुपर्ने बताउँर्दै नागरिकहरूलाई आफ्ना सरोकार, राय र गुनासोहरू सुनाउनको लागि मञ्च प्रदान गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मिडियाले लैङ्गिक समानता, बाल अधिकार, वातावरण संरक्षण, र सीमान्तकृत समुदायहरू जस्ता सामाजिक मुद्दाहरूको बारेमा जागरूकता बढाएको उनले बताए ।
मिडियाले समाचार रिपोर्ट गर्दा नैतिक मापदण्ड र सिद्धान्तहरू पालना गर्नुपर्ने बताउँदै राउतले तथ्यहरू प्रमाणीकरण गर्ने, गोपनीयताको रक्षा गर्ने, सनसनीपूर्णताबाट बच्ने र व्यक्तिहरूको मर्यादा र अधिकारहरूको सम्मान गर्नेमा सदैव सचेत रहनुपर्ने समेत बताए ।
प्राकृतिक प्रकोप वा आपतकाल जस्ता संकटको समयमा, मिडियाले आम जनमानसलाई समयमै र सही जानकारी प्रदान गर्न, समन्वय प्रयासमा मद्दत गर्न र सुरक्षा निर्देशनहरू फैलाउन महत्वपूर्ण भूमिका खेल्नुपर्दछ भन्ने आफूलाई लागेको बताए ।
विगत १८ बर्षदेखि रेडियो सञ्चार माध्यम क्यापिटल एफएम सञ्चालन गर्दै आएको क्यापिटल मिडिया ग्रुपले विगत ३ बर्षदेखि क्यापिटल टेलिभिजन र क्यापिटल दैनिक डटकम अनलाइन समाचार पोर्टल समेत सञ्चालन गर्दै आइरहेको छ ।