भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित शुभ भावना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्रलाई विस्तार गर्ने भएको छ ।
शनिवार सम्पन्न संस्थाको १५ औं बार्षिक साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित शिकारीटारमा सेवा केन्द्र विस्तार गर्ने जानकारी दिइएको हो ।
साधारण सभा उद्घाटन गर्दै सूर्यविनायक नगरपालिका सहकारी शाखाका प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारी मूल्य, मान्यता र सहकारी सिद्धान्तलाई अनुशरण गर्दै समुदायमा आधारित बचत तथा ऋण क्रियाकलापबाट शेयर सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारी संस्थाले योगदान दिँदै आएको बताए ।
साधारण सभामा संस्थाका अध्यक्ष राजु लुवन्जार श्रेष्ठले संस्थाको भावी योजना तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उद्देश्य परिपूर्ति गर्न सहकारी मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढेको बताए । उनले यसै बर्षदेखि प्रत्येक शेयर सदस्यहरुलाई कम्तिमा १०० कित्ता शेयर प्रदान गरिने बताए ।
श्रेष्ठले संस्थाको कारोबारलाई सूचना प्रविधिमैत्री बढाउने हेतुले सफ्टवेयरलाई अनलाइन प्रविधियुक्त बनाइने, यसै आर्थिक बर्षदेखि संस्थाको कार्यक्षेत्र विस्तार, शेयर पूँजी बृद्धि, बचतमा बृद्धि गरिने लक्ष्य लिइएको समेत बताए ।
यसैगरी यो बर्ष संस्थाका प्रत्येक शेयर सदस्यहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गरिने समेत उनले जानकारी गराए ।
संस्थाका उपाध्यक्ष दिनेश जयनाले विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दीका बाबजूद पनि संस्थाले कुनै विचलित नभइ एकता र सहकार्यको माध्यमबाट शेयर सदस्यहरुको आर्थिक र सामाजिक विकासमा योगदान दिन सकेकोमा खुशी लागेको बताए ।
यसैगरी संस्थाका सचिव सुमन न्यौपानेले सहकारीको विश्वव्यापी सिद्धान्त तथा मान्यतालाई आत्मसाथ गर्दै श्रम, सीप, प्रविधि र पूँजीलाई एकत्रित गर्ने अभियानलाई संस्थाले प्राथमिकतामा राखेको बताए ।
संस्थाका कोषाध्यक्ष विनोद खड्काले संस्थाको आर्थिक बर्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०६५ सालमा स्थापित संस्थाले भक्तपुर जिल्लाको दक्षिण भेगको ५ वटा वडामा छरिएर रहेका पूँजीलाई व्यवस्थित गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा योगदान दिँदै आएको बताए । उनले यस आर्थिक बर्षमा संस्थाको कूल निक्षेप १ करोड ४६ लाख ३४ हजार १ सय ७१ पुगेको जानकारी दिए । यसै आर्थिक बर्ष संस्थाले ३२ लाख २६ हजार ८७६ रुपैयाँ आम्दानी गरेको समेत उनले बताए ।
साधारण सभामा यस बर्षको उत्कृष्ट बचत कर्ता दुर्गा खड्कालाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।