भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको शनिवार सम्पन्न २१ औं बार्षिक साधारण सभामा उक्त जानकारी दिइएको हो ।
संस्थाले आर्थिक बर्ष २०७९/८० मा २ करोड ६३ लाख ६४ हजार ९ सय २९ रुपैयाँ खूद नाफा गरेको छ भने ६ करोड ८५ लाख ५३ हजार ४ सय २० रुपैयाँको जगेडा कोषको व्यवस्था गरेको छ ।
साधारण सभा उद्घाटन गर्दै नेफ्स्कुनका पूर्व अध्यक्ष तथा सल्लाहकार ऋषिराज घिमिरेले सदस्यहरुको स्वइच्छाले नियमित बचत गरी आफ्नो संस्था प्रति उत्तरदायित्व वहन गरेमा कुनैपनि सहकारीले आर्थिक संकटको अवस्था झेल्नु नपर्ने बताए ।
उनले सदस्यहरुले स्वशासन गर्न सकेमा सहकारीको आर्थिक गतिविधि पारदर्शी एवं विभिन्न कोषहरु मजबुद हुने बताए ।
साधारण सभामा संस्थाका अध्यक्ष प्रमोद घिमिरेले यस अवधिमा संस्थाले ७९ करोड ८४ लाख ९ सय २१ रुपैयाँको कारोवार गर्न सक्षम भएको बताउँदै संस्थाको दिगो स्थायित्वको प्रमुख आधार संस्थागत कोषको अवस्था र मुनाफा भएको बताए ।
घिमिरेले आगामी दिनमा संस्थालाई पारदर्शी र सुशासनमा सञ्चालनका लागि नीति, विधि र प्रविधिको अधिकतम उपयोग गरी सदस्यहरुलाई वित्तिय साक्षरता, सहकारी शिक्षा, बचत तथा ऋणका सेवाहरुको विविधिकरण गर्दै सेवा प्रवाह मार्फत सदस्यहरुको वित्तिय आवश्यक परिपूर्ति गरिने बताए ।
संस्थाका उपाध्यक्ष मिठाराम न्यौपानेले स्वागत मन्तव्य दिँदै अहिलेको जटिल आर्थिक परिस्थितिमा पनि वित्तिय अनुशासनलाई कायम गर्दै संस्थाले मुनाफा कमाउन सफल हुनुले शेयर सदस्यहरुमा विश्वसनीयता बढ्दै गएको बताए ।
साधारण सभामा सचिव दिपककुमार न्यौपानेले संस्थाले आफ्नो उद्देश्यहरु तथा मूल्य मान्यतालाई आत्मसाथ गर्दै चार बर्षीय रणनीतिक योजना तथा बार्षिक नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएका कारण नै शेयर सदस्यहरुलाई भरोसा दिन सकिएको बताए ।
न्यौपानेले विगत ४ बर्षदेखि कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीको कारण तरलता जोखिम जस्तो बिषम परिस्थितिमा पनि संस्थाले आफ्नो सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सक्नु उल्लेखनीय रहेको बताए ।
उनले संस्थाले आर्थिक अनुशासन कडाइका साथ पालना गरी खर्चमा मितव्ययी बनी मुनाफा बृद्धि र उपयोग नभएका कोषको नियमानुसार जगेडा कोषमा समायोजन गर्ने नीतिलाई अबलम्बन गरिएको बताए ।
साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नवराज घिमिरेले संस्थाले प्रत्येक बर्ष मुनाफा आर्जन गर्न सफल भएको बताउँदै संस्थाले आर्थिक बर्ष २०७९/०८० मा २ करोड ८८ लाख ६३ हजार ६ सय ७१ मुनाफा आर्जन गरेको बताए । उनले संस्थाले सञ्चालन गरेको पेन्सन बचत अन्तर्गत आफूले बचत गरेको रकम र आर्जित ब्याजसहित रकम फिर्ता लान चाहेमा फिर्ता लान सक्ने व्यवस्था मिलाइने बताए ।
संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा आर्थिक अनुशासन कडाइका साथ पालना गरी खर्चमा मितव्ययी बनी मुनाफा बृद्धि र उपयोग नभएका कोषको नियमानुसार जगेडा कोषमा समायोजन गर्ने नीति अनूरुप चालू आर्थिक बर्षमा १३ करोड ९० लाख २७ हजार पु¥याउने लक्ष्य लिएको छ ।
यसैगरी, संस्थागत सञ्चालन क्षमता विकासका लागि सदस्य सेवा केन्द्र विस्तार तथा सहकारी एकिकरण योजना, सदस्य एवं समुदायको श्रोत केन्द्र स्थापना, कर्मचारी क्षमता विकास कार्यक्रम गर्ने योजना बनाएको छ ।
यस्तै संस्थाले युवा लक्षित युवा सदस्य सेवा सम्बन्धी कार्यक्रम, युवा सदस्यहरुका लागि उद्यमशीलता विकास कार्यक्रम, युवा सदस्यहरुका लागि सीप विकास तालिम कार्यक्रम, सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत सदस्य विमा कार्यक्रम, सहकारी शिक्षा शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ । सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमलाई चालू आर्थिक बर्षमा पनि निरन्तरता दिँदै जेष्ठ सदस्य तथा बालबालिका लक्षित कार्यक्रम समेत सम्पन्न गर्ने संस्थाले योजना बनाएको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिकलाई तथा एसइईमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा निःशुल्क दुर्घटना विमाको रकम समेत मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो ।
तस्वीर :अनिल न्यौपाने