काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ईडीभी कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०:४५ बजे बन्द हुनेछ । डिभी चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।
अनलाइन फारम कसरी भर्ने ?
सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ ।