सुर्खेत । छुट्टाछुट्टै घटनामा दुई जना बालकको मुत्यु भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शनिबार दिनभर तनावग्रस्त बनेको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगढी चोकमा शनिबार दिनभर प्रर्दशन गरेका छन् ।
दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा शनिबार विहान कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि उनका आफन्तहरुले वीरेन्द्रनगरको जुम्ला रोडको चारलेन सडक बिहानैदेखि अवरुद्ध गरेका छन् ।
केही आन्दोलनकारीहरु मंगलगढी चोकमा टायर बालेर प्रर्दशन गरेका छन् । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन खोजेपछि आन्दोलनकारी र प्रहरीबीच मंगलगडि चोकमा झडप समेत भएको छ ।
दुर्घटनालगत्तै फरार मोटरसाइकल चालकलाई पक्राउ गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तहरुको माग छ ।
शनिबार नै वीरेन्द्रनगर नगरपालिका– ६, को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक ८ वर्षका बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन पनि उग्र बनेको थियो ।
घण्टाघर नजिकको उक्त होस्टेलमा शुक्रबार राति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका सलाम पुलामी मगर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनी कक्षा २ मा पढ्थे । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु विद्यालमा तोडफोड र आगजानी गरेका छन् ।
घटनाको छानबिन गर्नुपर्ने भन्दै आक्रोशित भिड तोडफोडमा नै उत्रिएपछि भिडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबीचको झडपले उषा विद्यालयको परिसर तनावग्रस्त बनेको थियो । विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।