भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित त्रिवेणेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० मा १५ लाख ८६ हजार मुनाफा गरेको छ ।
संस्थाको शनिवार सम्पन्न १४ औं बार्षिक साधारण सभामा उक्त जानकारी दिइएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारी तथा रुस युक्रेन युद्धले विश्व अर्थतन्त्रमा पारिरहेको प्रभावका बाबजूद पनि संस्थाले हासिल गरेको आर्थिक उपलब्धी उल्लेखनीय भएको साधारण सभामा बताइएको छ ।
साधारण सभाको उद्घाटन गर्दै बागमति प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले सहकारीले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ जारी भई कार्यान्वयनमा आइसकेको सन्दर्भमा ऐन नियमले निर्देशित गरेका लक्ष्यहरुलाई पालना गर्नु सहकारीकर्मीहरुको दायित्व भएको बताए ।
संस्थाका अध्यक्ष दिनेश न्यौपानेले सहकारी संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक उन्नतिका लागि महत्वपूर्ण भूमिका रहेको बताउँदै सहकारी संस्थालाई ऋण लिने थलोको रुपमा हेर्ने सदस्यहरु र ऋण लगानी गरी ब्याज आर्जनका लागि मात्र प्रमुखता दिने संस्थाहरु दुवै सहकारी अभियान र विकासका लागि बाधक भएको बताए ।
यसैगरी, संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव श्यामकृष्ण न्यौपानेले देशभरि झण्डै ३६ हजारको संख्यामा रहेका सहकारी संस्थाहरु बदलिँदो परिस्थितिले सिर्जना गरेको आर्थिक मन्दीका कारण झण्डै ३० हजारको संख्यामा संकुचित भएको बताए । उनले गत आर्थिक बर्षमा संस्थाले खरिद गरेको जग्गामा आफ्नै भवन निर्माण गर्न कम्पाउण्ड लगाउने कार्य सम्पन्न भएको बताउँदै संस्थाको ४ बर्षे रणनीतिक कार्ययोजना लागू गरिएको बताए ।
यस्तै, कोषाध्यक्ष सुदर्शन न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा आबद्ध ६९२ शेयर सदस्यहरु शेयर पुँजी, बचत रकम, घरजग्गा कोष, जगेडा कोष, कर्जा सुरक्षण कोष, राहत कोष तथा अन्य कोष गरी ६ करोड १ लाख ३४ हजार ६ सय ५० रुपैंया पुगेको बताए । उनले आर्थिक बर्ष २०७९/०८० मा संस्थाले १५ लाख ८६ हजार ०७८ रुपैयाँ मुनाफा गरेको बताए ।
साधारण सभाकै अवसरमा मध्यपुर अस्पतालको सहकार्यमा जनरल, स्त्रीरोग तथा अर्थाेपेडिक रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । सो शिविरमा ९० जनाको स्वास्थ्य परीक्षण गरिएको संस्थाका सचिव श्यामकुमार न्यौपाले जानकारी दिए ।