बाँके । बाँके स्थित बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका– ६ स्थित जयन्दु बाल सुधारगृहमा झडप हुँदा एकजनाको ज्यान गएको हो । कपिलवस्तु रुद्रपुरका करिब २१ वर्षीय सुलभ केसीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । मृतक केसी अपहरण, शरीर बन्धक र जबर्जस्ती करणीमा सजाय भोगिरहेका थिए ।
राति करिब साढे १० बजेबाट भएको झडप दुई बजेसम्म भएको थियो । झडपमा परी १० जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाल सुधारगृहमा दुई सय ५५ जना छन् । ती सबैले एकसाथ प्रहरीमाथि आक्रमण गरी कार्यालय र सवारीसाधन तोडफोड गरेका छन् । तोडफोडबाट सुधारगृह र कार्यालय भवनको झ्यालका सिसा फुट्नुका साथै कार्यालयमा रहेका कम्प्युटरलगायतका उपकरणमा क्षति पुगेको छ । सुधारगृहमा रहेका प्रहरीको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
बाल सुधारगृहमा रहेका युवाको समूहले आफूले खाने थाल, कटौरा, गिलाससमेत बाहिर फालेका छन् । बाल सुधारगृहमा रहेका केही नाइके भागेको अनुमान गरिएको छ । तर, प्रहरी त्यहाँ जान सक्ने अवस्था नरहेकाले भाग्नेको संख्या यकिन हुन नसकेको डिएसपी डाँगीले बताए ।
बिहान अवस्था केही सामान्य भए पनि छतबाट ढुंगा, इँटा फाल्ने क्रम रोकिएको छैन । उनीहरूले प्रहरीलाई गालीगलौज गर्ने क्रम रोकिएको छैन । बाल सुधारगृहमा तोडफोड र आगजनीसमेत भएको छ ।