काठमाडौ । हिन्दूहरुको आस्थाको केन्द्र पशुपति मन्दिर परिसरमा सवारी साधन लिएर जाने भक्तजनहरुले आफ्ना सवारी साधनहरु पार्किङ गरेबापतको रकम उठाउँदै आएको ठेकेदार कम्पनीले अनियमितता गरेको भन्दै सम्झौता रद्द गरिएको छ ।
अब यी क्षेत्रमा पार्किङ गर्दा पैसा तिर्नुपर्ने छैन । यो क्षेत्रमा पार्किङ गरेबापत रकम उठाउने बिषय बेला–बेलामा विवादमा आउने गरेका थिए । पार्किङ शुल्क उठाउने जिम्मेवारी पाएको तत्व इन्भेस्टमेन्ट प्रा.लि.ले ४१ लाख बढी रकम बक्यौता रकम भुक्तानी नगरेको भन्दै पशुपति क्षेत्र विकास कोषले उक्त कम्पनीसँग सम्झौता तोडेको छ । त्यसो कम्पनीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता विपरीत मन्दिर दर्शनमा आउने भक्तजनहरुसाग उठाएको पार्किङ शुल्कमा समेत अनियमितता गरेको आरोप लागेको छ ।
पार्किङ व्यवस्थापनमा व्यापक अनियमितता देखिएपछि टेन्डरवाला कम्पनीसँग सम्झौता रद्द गरी तत्कालका लागि पार्किङ निःशुल्क गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उक्त बसपार्कमा अनियमितता मात्र नभई कानुनको समेत गम्भीर उल्लङ्घन देखिएको मन्त्री किरातीको भनाइ छ ।
‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लङ्घन देखिएकाले सम्झौता भङ्ग गरिसकिएको छ । अर्को प्रक्रिया पुरा नहुँदासम्म पार्किङ निःशुल्क गरिएको जानकारी गराइन्छ,’ मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
कोषले गत भाद्र २१ गते नै तत्व इन्भेस्टमेन्टसँगको सम्झौता तोडेको हो । कोष र कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि ५ वर्षको सम्झौता भएको थियो । तर, सम्झौता अनुसारको शुल्क नियमित रूपमा भुक्तान नगरिएपछि ठेक्का रद्द गरिएको कोषले जनाएको छ ।
कोषले लिनुपर्ने रकम ६० लाख रुपैयाँ हो । पटकपटक गरी कम्पनीले कोषलाई जम्मा १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । बाँकी ४१ लाख रुपैयाँ भुक्तानी गर्न पटकपटक ताकेता गर्दा समेत कम्पनी तयार नभएपछि ठेक्का नै रद्द गर्न बाध्य भएको कोषले जनाएको छ ।
कोषले कम्पनीसँग ५ वर्षका लागि ठेक्का सम्झौता गरेको थियो । तर, साढे २ वर्षमा नै विवादका कारण सम्झौता रद्द गर्न परेको कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे सवारी साधनका लागि १० रुपैयाँ र चारपाङ्ग्रे सवारीका लागि २५ रुपैयाँ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो । तर, कम्पनीले सो भन्दा बढी शुल्क उठाएको पाइएको कोषल