काठमाडौं । २१ औं शताब्दीमा पनि पाठेघरको मुखको क्यान्सरबाट विश्वभरिमा प्रत्येक २ मिनेटमा एक जना महिलाले ज्यान गुमाउनु दुःखद् भएको विशेषज्ञहरुले बताएका छन् ।
सोमबार किर्तिपुर स्थित किर्तिपुर अस्पतालमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ३० देखि ६० बर्ष उमेरका विवाहित महिलाहरुमा गरिने निःशुल्क एच.पि.भि.डि.एन.ए. परीक्षण सेवा शुभारम्भ कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा जनस्वाथ्य सरोकार ट्रष्ट नेपाल (फेक्ट नेपाल)का कार्यकारी निर्देशक गौरी प्रधानले आफू चिकित्सक नभएपनि मानवअधिकार रक्षक भएकाले नेपालमा पाठेघरको मुखको क्यान्सरको असरका बारेमा जानकार रहेको बताए । उनले भने, ‘आफू चिकित्सक नभएकाले पाठेघरको मुखको क्यान्सरका बारेमा त्यति जानकार त छैन र तर एउटा मानवअधिकार रक्षक भएका नाताले यस बारेमा म आफै सचेत चाहि छु ।’
नेपाल जस्तो अल्पविकसित मुलुकमा अझैपनि पाठेघरको मुखको क्यान्सबाट मृत्यु हुने महिलाहरुको संख्या ठूलो रहेको बताउँदै प्रधानले २०औं शताब्दीमा यो समस्या विकसित राष्ट्रहरुमा समेत भएको अध्ययनहरुले देखाएको बताए ।
नेपाल जस्तो अल्पविकसित मुलुकमा अहिलेपनि यो समस्या उत्तिकै संवेदनशील र चुनौतीपूर्ण रहेको बताउँदै समयमा नै यसको पहिचान भएको खण्डमा महिलाको ज्यान जेगाउन सकिने प्रधानले बताए ।
कार्यक्रममा अमेरिकाको रोटरी क्लब अफ अकल्याण्डका प्राध्यापक डा. रिचार्ड गडफ्रेले विकसित मुलुकमा करिब नियन्त्रणमा रहेको पाठेघरको मुखको क्यान्सरको समस्या अल्पविकसित मुलुकमा अझैपनि जटिल परिस्थितिमा रहेको बताए ।

यस्तै फेक्ट नेपालका जनस्वास्थ्य निर्देशक प्राध्यापक डा.शम्भु उपाध्याय, फेक्ट नेपालका कार्यकारी अध्यक्ष डा.भरत प्रधानले पाठेघरको मुखको क्यान्सरले नेपालमा पारिरहेको प्रभाव र त्यसबाट बच्न ध्यान दिनुपर्ने बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न प्रयोग गरिने एम्पफायर मेसिन तथा सामानहरु अस्पताललाई हस्तान्तरण गरिएको थियो भने किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, रोटरी क्लब अफ अकल्याण्ड तथा रोटरी क्लब अफ ठमेलका प्रतिनिधिले अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा शुभारम्भ गरेका थिए ।
रोटरी क्लब अफ ओकल्याण्ड अमेरिका तथा रोटरी क्लब अफ ठमेल नेपालको सहयोगमा जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल, काठमाण्डौ मोडल अस्पतालको आयोजनामा किर्तिपुर अस्पतालमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ३० देखि ६० बर्ष उमेरका विवाहित महिलाहरुमा गरिने निःशुल्क एच.पि.भि.डि.एन.ए.परीक्षण सेवा सोमबारबाट सुरु गरेको छ ।



