नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा हुने जी–२० राष्ट्रहरूको शिखर सम्मेलन शनिबार औपचारिक रूपमा सुरु भएको छ। यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत धेरै देशका राष्ट्र प्रमुखहरू दिल्ली पुगेका थिए ।
यस सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नआउने उनको ठाउँमा चिनियाँ प्रधानमन्त्री ली च्याङ सहभागी हुँदैछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस सम्मेलनमा सहभागी हुने छैनन् ।
सी जिनपिङको अनुपस्थितिबारे आधिकारिक रूपमा अहिलेसम्म केही भनिएको छैन। तर, दुवै देश केही समयदेखि सीमा विवादमा फसेका छन् । भारतका जी–२० अधिकारीहरूले शिखर सम्मेलन सुरु हुनु अघि शुक्रबार साँझ पत्रकार सम्मेलनमा दुई दिनमा जारी हुने घोषणाको मस्यौदा लगभग तयार रहेको जानकारी दिएका थिए । उनीहरूले सबैको सहमतिमा संयुक्त वक्तव्य जारी गर्न सक्ने आशा व्यक्त गरेका छन्।
यसअघि भारतको अध्यक्षतामा जी–२० को समूहका धेरै बैठकहरू भइसकेका छन्, जसमा रुस–युक्रेन युद्धका विषयमा साझा धारणाका लागि सहमति हुन सकेको छैन । मोदीले पुनः यो सम्मेलनले मानव केन्द्रित र समावेशी विकासको नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरेका छन् ।
आजको कार्यक्रम
दिल्लीको प्रगति मैदानस्थित भारत मण्डपममा बिहान ९.४५ बजेदेखि सुरु हुने कार्यक्रममा देश विदेशका नेताहरुको आगमन हुनेछ । पहिलो सत्र ‘एक पृथ्वी’ मा हुनेछ र त्यसपछि धेरै द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि ‘एक परिवार’ शीर्षकको दोस्रो सत्र हुनेछ । आज प्रधानमन्त्री मोदीले बेलायत, इटाली, जापान र जर्मनीका राष्ट्र प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्नेछन्।
साँझ सात बजेपछि सबै नेताहरू फेरि एकपटक डिनरमा जम्मा हुनेछन् । यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता भएको थियो, त्यसपछि दुवै पक्षले संयुक्त वक्तव्य जारी गरेका थिए ।
यस वक्तव्यमा अमेरिकाले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्य बनाउनको लागि आफ्नो समर्थन दोहो¥याएको छ। साथै अमेरिकाले सन् २०२८(२९ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भारतलाई अस्थायी सिटको समर्थन गर्ने बताएको छ ।
इन्डो–प्यासिफिक क्षेत्रलाई स्वतन्त्र राख्न क्वाडको महत्त्वमा दुवै नेता सहमत रहेका छन् । बिडेनले चन्द्रयान–३ र आदित्य एल १ मिसनका लागि भारतलाई बधाई दिए र इसरो र नासा बीचको सहयोग बढाउनमा जोड दिए । सेमीकन्डक्टर सप्लाई चेनलाई थप सुधार गर्ने विषयमा पनि दुईबीच कुराकानी भएको थियो । अमेरिकाले यस क्षेत्रमा भारतमा कुल ७० करोड डलर लगानी गर्नेछ ।