काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगरले जनाएको छ ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापति समेत हुन् ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।
रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो ।
फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की पनि परेको थियो ।
पछि मेयर शाह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।
सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।