काठमाण्डौ । नेपाल र चीनबीचको सम्बन्धका बारेमा नेपाली र चिनियाँ विज्ञहरुबीच द्धिपक्षीय छलफल हुनु जरुरी भएको राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । छिमेकी मित्रराष्ट्र चीनको सहयोगमा नेपालको विकास र समृद्धिका बहुआयामिक परियोजना सम्पन्न गर्न सकिने समेत कार्यक्रममा बताइएको हो ।
‘समसामयिक नेपाल–चीन सम्बन्ध’ बिषयमा चीन अध्ययन केन्द्रले आयोजना गरेको राउण्ड टेबल छलफल कार्यक्रममा विज्ञहरुले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने बेला आएको बताए ।
कार्यक्रममा बोल्ने सहभागीहरुले नेपाल र चीनको सम्बन्ध ऐतिहासिक रुपमा पूरानो भएतापनि त्यसको महत्वलाई आत्मसाथ गरेर चीनबाट नेपालले लिनसक्ने लाभ लिन नसकिएको समेत बताएका छन् ।
पछिल्लो समयमा चिनियाँ सहयोग परियोजना विआरआई र अमेरिकी सहयोग परियोजना (एमसीसी) एकैसाथ नेपालमा क्रियाशिल हुँदा पर्न सक्ने प्रभावलाई चीनले बुझिदिनु पर्ने विज्ञहरुको धारणा रहेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले नेपाल र चीनबीच पछिल्लो समयमा बढिरहेको सहयोगात्मक सम्बन्धलाई अझ प्रभावकारी बनाउन अन्तरक्रियाको आयोजना गरिएको बताए । डा. गौतमले नेपाल र चीनबीच विभिन्नआयोजनाहरु सञ्चालन गर्न विगतमा धेरै समझदारी र सम्झौता भएपनि तिनीहरुको प्रगति सुस्त रहेको भन्दै यस्ता विषयहरुमा दुवै पक्ष बसेर बहस चलाउनु पर्नेमा दिए ।
यस्तै, कार्यक्रममा इन्स्च्यिूट अफ साउथएसियन स्टडिज (सि.आइ.सि.आइ.आर) का निर्देशक प्रोफेसर डा. हु स सङले नेपाल र चीनबीचको द्विपक्षीय सहयोग र सहकार्यको चर्चा गर्नुहुँदै विगत १० वर्षमा दुई देशबीच महत्वपूर्ण कार्य भएको बताए ।
डाक्टर हु स सङले चीन–नेपाल सम्बन्ध, दक्षिण एशीया र विश्व राजनीतिमा आएका महत्वपूर्ण राजनीतिक परिवर्तन तथा रणनीतिबारे समीक्षा गर्दै कुनै पनि देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता महत्वपूर्ण हुने बताए । उनले रजनीतिक स्थायीत्वको अभावमा बुढी गण्डकी र सेती जस्ता ठूला जलविद्युत परियोजनाहरु अलपत्र भएको गुनासो गरे। हालै चीनले प्रकाशित गरेको राजनीतिक नक्साकै कारणबाट दुइ देशबीचको सम्बन्ध विग्रन सक्ने कुरा अस्विकार गर्दै उनले यस्ता समस्याहरु वार्ताको माध्यमबाट सजिलै समाधान गर्न सकिने जानकारी दिए ।
चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै नेपालको सार्वभौमिकता र स्थायीत्वको चीनले सँधै सम्मान गर्ने डाक्टर हु स सङको भनाइ छ । नेपालमा राजनीतिक स्थायीत्वले निरन्तरता पाए चीनले नेपालको विकास निर्माणमा अझ धेरै सहयोग गर्न सक्ने उनले बताए ।
कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्य, लीलामणी पौड्याल, पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्व सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, चीन अध्ययन केन्द्रका सुन्दरनाथ भट्टराई, सल्लाहकार प्राध्यापक डा.मोहन लोहनी, सचिव प्रकाशबाबु पौडेल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल लगायतले नेपाल–चीन सम्बन्धका विविध पक्षहरुमा धाराणा राखेका थिए ।