काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आईतबार देशका बिभिन्न ठाउँमा प्रर्दशन गरेको छ । बलात्कारपछि भएको हत्याको ४ महिना बितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै आईतबार काठमाडौंसहित देशका बिभिन्न ठाउँमा प्रदर्शन गरिएको हो ।
बर्तमान सरकारले बहुमतको आडमा अपराधीलाई लुकाएको आरोप लगाउँदै सरकारलाई दबाब दिन नेकपाले राजधानी काठमाडौंसहित दाङ, बिराटनगर, महेन्द्रनगर लगायतका जिल्लामा सरकार विरुद्ध विरोध प्रर्दशन गरेको छ । दाङमा भएको दाङको लमहीमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले पार्टीका ७ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुण सिंहको नेतृत्वको टोलीले नेकपा दाङका जिल्ला सचिवालय सदस्य किरण डाँगी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत ७ जना विद्यार्थीलाई पक्राउ गरेको हो । यस्तै दाङका अन्य सहरहरू तुलसीपुर, घोराही, लमही लगायतका जिल्लाका दस वटा स्थानीय तहमा प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका दाङ जिल्ला सचिव अमर खड्काले जानकारी दिनुभयो ।
पोल पोलमा केपीको तस्वीर टाँगेर हैन, बलात्कारीलाई कारबाही गरेर नयाँ युगको सुरूआत गर्न प्रदर्शनमा सहभागीहरूले माग गरेका थिए । उता, कोशी अञ्चलभरका नेता तथा कार्यकर्ताले विराटनगरको संसारीमाई मन्दिरमा भेला भएर्र याली निकालेका थिए । उनीहरूले निर्मला पन्त लगायतलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई अविलम्ब कारबाही गर्नुपर्ने, भष्ट्राचारी, महंगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
काठमाडौंको शान्तिवाटिकाबाट शुरु भएको विरोध जुलुस घण्टाघर, शहिदगेट, सुन्धारा हुदै पुनः शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । यस्तै, महेन्द्रनगरको स्थानीय दशरथ चोकबाट निस्किएको ¥याली शहरका विभिन्न स्थानको परिक्रमापछि संविधानचोकमा गएर सभामा परिणत भएको थियो ।