काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिएको पाइए ठाउँको ठाउँ कारबाही गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै व्यावसायिक भवन तथा कार्यालयहरुले पार्किङ वापत शुल्क लिएमा महानरपालिकाको मोबाइल नम्बर ९८५१०५१६१० मा फोन गर्न समेत आग्रह गरेको छ ।
सो कार्यका लागि महानगरपालिकाले नगर प्रहरीका निरीक्षक धर्म भण्डारी सम्पर्क अधिकृत तोकेको छ । महानगरपालिकाले कुनै पनि व्यावसायिक भवन, कार्यालय, रेष्टुराँ, अस्पताललगायतलाई सेवाग्राहीबाट पार्किङ शुल्क नपाउने नियम लागू गरिसकेको छ ।
तर, उक्त निर्णयको कार्यान्वयनमा बेवास्ता गरेको पाइएपछि महानगरपालिकाले सम्पर्क अधिकृत नै तोकेर सक्रियता देखाएको हो ।
महानगरपालिकाको आर्थिक ऐन, २०८० मा निजी मार्ट, रेष्टुराँ, सपिङ् कम्प्लेक्स, अस्पताल, निजी तथा सरकारी कार्यालय, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।