भक्तपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको ए डिभिजन लिग यू–१६ फुटबल खेलमा भक्तपुर सूर्यविनायकका अनुरोध बोगटीले पनि खेल्ने भएका छन् ।
बोगटी त्रिभुवन आर्मी क्लबका तर्फबाट पहिलोपटक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्दैछन् । असार ३० गते शनिवार आयोजना हुने खेलमा आर्मी र एनआरटिबीचको प्रतिस्पर्धामा उनी आर्मीका तर्फबाट मैदानमा उत्रिदैछन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर १ का बोगटी अखिल नेपाल राष्ट्रिय फुटबल संघ (एन्फा)को यू–१३ फुटबल खेलका लागि यसअघि नै प्रतिस्पर्धा गरिसकेका छन् । बोगटी हाल त्रिभुवन आर्मी क्लबका तर्फबाट ए डिभिजन लिग यू–१६ फुटबल खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
सानै उमेरदेखि फुटबल खेलमा रुची राख्दै आएका अनुरोध विद्यालय विदा समयमा स्थानीय फुटशलहरुमा खेल्ने गर्दथे । सैनिक विद्यालय भक्तपुरमा कक्षामा ९ मा अध्ययनरत बोगटी आफ्नो अध्ययनसँगै फुटबल खेललाई समेत व्यवसायिक रुपमा अगाडि बढाउन चाहन्छन् । उनको खेलप्रतिको लगाव र मिहिनेतमा उनका पिता राजाराम बोगटीले सम्पूर्ण रुपमा साथ र हौसला प्रदान गरिरहेका छन् । राजाराम भन्छन्, ‘छोरालाई परिवारको साथ र सहयोग त छँदैछ, उनी आफैले पनि एउटा कुशल राष्ट्रिय फुटबल खेलाडी बन्ने सपना बोकेर खेलमा समर्पित भएका छन् ।’
फुटबल खेलमा आफ्नो व्यवसायिक यात्रालाई अगाडि बढाउन देशका विभिन्न भागहरुबाट नवयुवाहरुलाई प्रशिक्षण दिने काम पनि नभएका होइनन् । कतिपयले औपचारिक र कतिपयले अनौपचारिक रुपमै भएपनि फुटबलको प्रशिक्षण प्राप्त गरिरहेका छन् । सोही क्रममभा भक्तपुर सल्लाघारी स्थित सैनिक आवासिय माध्यमिक विद्यालयमा कक्षामा ९ अध्ययनरत बोगटी अहिले जारी ए डिभिजन लिग यू–१६ फुटबल खेलको तयारी गरिरहेका थिए ।
संसारभरका खेलप्रेमीहरुका निम्ति पहिलो रोजाइमा पर्ने फुटबल नेपालमा पनि व्यवसायिक रुपमा अगाडि बढ्न थालेको छ । पछिल्लो समयमा फुटबलमा आफ्नो व्यसायिक भविष्य देखेर यसलाई नै करियर बनाउन सकिने भएकाले पनि यसप्रतिको आकर्षण बड्दो छ । त्यसो त फुटबल खेलेरै नाम र सान दुवै प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण नेपाली खेलाडीहरुले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको खेलमा संलग्नता देखाएर पुष्टी गरिसकेका छन् ।