काठमाडौं । प्रकोप जोखिम न्यूनीकरण सम्बन्धि दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।
गृहमन्त्रालय अन्तर्गत विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको आयोजना तथा यूएसएड र डिपिनेट नेपालको सहकार्यमा बिहिबारदेखि सुरु सम्मेलन आज शुक्रबार समापन भएको हो । सम्मेलनमा बोल्दै बक्ताहरुले बर्तमान विपद जोखिम न्यूनीकरण, अनुसन्धान, विभिन्न अभ्यासहरु तथा हालसम्मका सिकाइहरु सरोकारवाला निकायहरुसगँ आदानप्रदान गर्न आवश्यक रहेकोमा जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघ विपद व्यवस्थापन समितिका उपाध्यक्ष भक्त बहादूर हमालले विपद पछिको उद्धारका लागि सामान्य कदमहरु पनि लाभदायक हुने बताउँदै निजि क्षेत्र लगायतले देखाएको प्रयास सकारात्मक भएको बताए । विपद व्यवस्थापन तथा उद्धारका लागि प्रधानमन्त्री कोषमा निजि क्षेत्रको पनि सहभागिता हुनु देश प्रतिकै जवाफदेहिता भएको उपाध्यक्ष हमालको भनाई थियो ।
त्यस्तै निजि क्षेत्रबाट प्रतिनिधित्व गरेका सुमन शाक्यले विपद् जोखिम व्यवस्थापन तथा न्यूनिकरणका लागि सबै क्षेत्रको सहकार्य नै परिणाममूखी हुने धारणा राखे ।
सम्मेलनमा बोल्दै नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कुनै अवस्थामा कानुनी समस्या देखिए समयानुकुल कानुन निर्माणका लागि महानगरपालिकाहरुले पनि तदारुकता देखाउनुपर्ने बताए ।
सम्मेलनले भविष्यमा नीति र कानुन निर्माणमा समेत टेवा पुग्ने आयोजकले जनाएको छ ।
दुई दिनसम्म संचालन भएको उक्त सम्मेलनमा गृहमन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालयका सचिव उपसचिवहरु, युएसएड तयार नेपाल परियोजनाका पदाधिकारीहरु, हाईफेसका अध्यक्ष सुशिल राउत, विभिन्न नगरपालिका र गाउंपालिका अध्यक्षहरु लगायत अन्य सरकारी तथा गैह्र सरकारी संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती थियो ।