काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो । उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।
सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको जोशीले बताए । सन् १९६०÷७० को दशकमा हिप्पीहरुले नेपालमा लागूऔषध एलएसडी भित्र्याएको मानिन्छ ।
तर, पछिल्ला वर्षहरुमा नेपालमा एलएसडीको प्रयोग भएको देखिएको थिएन । निकै महँगो पर्ने र स्टिकरका रुपमा विक्री वितरण गरिने यो लागूऔषध नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको आशंका गरिएको जोशी बताउँछन् ।
ब्यूरोका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरीका अनुसार ब्यूरोले समातेको एलएसडीको यो परिमाण हालसम्मकै सबैभन्दा ठूलो हो । ब्यूरोका अधिकृतहरुका अनुसार बरामद एलएसडी स्थलमार्गमार्फत भारतबाट नेपाल ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ ।
के हो एलएसडी ?
ब्यूरोले एलएसडी कारोबारमा संलग्न पाँचै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका नार्कोटिक्स शाखाका डीएसपी पवन ढुंगानाका अनुसार एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) हार्ड ड्रग हो । ‘प्रयोगकर्तामा यसको गम्भीर असर पर्छ’, उनी भन्छन् ।
नेपालमा बरामद एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ ।