भक्तपुर । ‘हाम्रो सूर्यविनायक, राम्रो सूर्यविनायक’ अभियान अन्तर्गत युवाहरु सरसफाइ अभियानमा जुटेका छन् ।
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको सार्वजनिक स्थानहरुमा सरसफाइ गरेर युवाहरुले अभियान नै चलाएका छन् । हरेक शनिवार नगरपालिकाभित्रका विभिन्न सार्वजनिक स्थल, मठमन्दिर, पुल पुलेसा तथा सडक सरसफाइमा उनीहरु सक्रिय हुन थालेका हुन् ।
विगत ४७ हप्तादेखि उनीहरुले शनिवार नगरपालिकाभित्रका सार्वजनिक स्थानमा जम्मा भएर सरसफाइ अभियानलाई निरन्तरता दिइरहेका छन् ।
उनीहरुले चिया पसलमा गफ गरेर समय बिताउनु भन्दा आफ्नै नगरपालिकाभित्र केही सिर्जनात्मक काम गर्न सकिन्छ भनेर यो अभियानलाई अगाडि बढाएको अभियानका नेतृत्वकर्ता विशु थापा बताउँछन् । नगरपालिकालाई फोहरमुक्त बनाउने अभियान अन्तर्गत यो प्रयास सुरु भएको थापाले बताए ।
उनीहरुको यो अभियानमा अहिलेसम्म कुनै निकायबाट सहयोग प्राप्त गरेका छैनन् । हरेक हप्ता अभियानका लागि आवश्यक पर्ने माक्स, पञ्जा, कुचो तथा सरसफाइका अन्य औजारहरु उनीहरु आफै व्यवस्थापन गर्छन् । स्वयंसेवी रुपमा व्यक्तिगत रुपमा उनीहरुले आफैले उठाएको रकमबाट यी सामानहरु खरिद गर्ने गरेका छन् । हरेक शनिवार विहान ७ बजे उनीहरुको निर्धारित गन्तव्यमा जम्मा भएर १० बजेसम्म सरसफाइमा सक्रिय हुन्छन् ।
हालसम्म उनीहरुले सूर्यविनायक नगरपालिकाभित्रका वडा नम्बर १ को विन्दबासिनी मन्दिर, वडा नम्बर २ को बालकोट चोक र दुर्गा मन्दिर, वडा नम्बर ३ को शिव सरस्वती मन्दिर देखि रोज भिलेजको पुलसम्म, वडा नम्बर ४ को दक्षिण बाराही, चरखण्डी तथा अनन्तलिङ्गेश्वर मन्दिर, वडा नम्बर ५ को सुवर्णेश्वर मन्दिर, चक्रपाणी चोक, वडा नम्बर ६ को गणेशमान बाटिकादेखि पाण्डुबजार, वडा नम्बर ७ को मन्थली, पाइलट बाबा आश्रम,वडा नम्बर ८ को डोलेश्वर तथा आशापुरी मन्दिर, वडा नम्बर ९ को जोरपाटी शिव मन्दिर, वडा नम्बर १० को भद्रकाली मन्दिर, गुफादन्द तथा सेतीदेवी मन्दिर लगायतका स्थानहरुमा सरसफाइ गरिसकेका छन् ।
आजभन्दा ४७ हप्ता अगाडि केही युवाहरुको संलग्नबाट सुरु भएको यो अभियानमा अहिले नगरपालिकाका १० वटै वडाका युवाहरु सहभागी हुने गरेको अभियानका सदस्य क्षितिज थापाले जानकारी दिए ।
फोटोः क्षितिज थापा, क्यापिटल देनिक