काठमाडौं । पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेटाएको हो ।
योसँगै पाँच खेलको शृङ्खला २-२ को बराबरी भएको छ । अब बाँकी एक खेल जित्ने टोलीले यो शृङ्खला जित्नेछ ।
मलेसियाको जितका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक ३८ रनको योगदान गरिन् । यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३, नुर एरियाना नात्स्याले ९, आइना हाशिम र आयसिया एलिसाले एकरएक रनको योगदान गरे ।
नेपालकी कविता कुँवर, रुबिना क्षेत्री, सीता रानामगर र कविता जोशीले एकरएक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।
नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रनको योगदान गरिन् भने विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन् ।
सम्झना ८ रन, ओपनर काजोल श्रेष्ठले ६ रन , ज्योति पाण्डे एक रन र कप्तान रुविना क्षेत्री बेलबासे शून्य रनमै आउट भए । कविता जोशी १२ रन बनाएर अविजित रहिन् ।
मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन् । महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिए ।