काठमाडौं । बागमति प्रदेशका प्रदेश सभा सदस्य किरण थापाले आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयक २०८० सिद्धान्त र प्राथमिकता सतही र सामान्य भएको बताएका छन् ।
बागमति प्रदेशले प्रस्तुत गरेको विनियोजन विधेयक २०८० सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुँदै थापाले देश आर्थिक संकटबाट गुज्रिएको अवस्थामा मितव्ययी बजेट निर्माण हुनुपर्नेमा जोड दिए । उनले भने, ‘देश आर्थिक संकटबाट गुज्रिरहेका अवस्थामा प्रदेश सरकारसमेत यसको मारमा परेको स्पष्ट देखिन्छ । हामी अत्यन्तै जटिल मोडमा आइरहेका छौं । यो बेला मितव्यी बजेट हुनुपर्नेमा दुईमत छैन । तर प्राथमिकतमा राख्नुपर्ने कतिपय योजना छुटेको देखिन्छ ।’
थापाले आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै आत्मनिर्भरमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताए । उनले भारतबाट बर्षेनी करोडौंको फूल आयात भइरहेको बताउँदै स्वदेशभित्रैको उत्पादनलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताए ।
थापाले भने, ‘भक्तपुरको गुण्डू र ताथलीमा बार्षिक ३ करोड भन्दा बढी मखमली र सयपत्री फूलहरु उत्पादन हुन्छ । यदि स्वदेशी उत्पादनमाप्रदेशले ध्यान दिने हो भने हामी आत्मनिर्भर हुन सक्छौं ।’
नेपालमा रहेका १० वटा औद्योगिक क्षेत्र मध्ये ४ वटा बागमति प्रदेशमा रहेको बताउँदै थापाले भक्तपुर आद्योगिक क्षेत्रलाई पूर्वाधार निर्माण गरी स्थानान्तरण गर्नुपर्ने बताए । हाल भक्तपुर नगरपालिकाभित्र रहेको सीमित क्षेत्रमा रहेको औद्योगिक क्षेत्रलाई सूर्यविनायक वा चाँगुनारायण क्षेत्रमा स्थानन्तरण गर्नु उपयुक्त हुने थापाले बताए ।
भूगोलमा नेपालकै सानो जिल्ला भएपनि जनघनत्वका रुपमा भक्तपुरमा सबैभन्दा बढी जनघनत्व भएको बताउँदै थापाले सूर्यविनायकका नागरिकले खानेपानीको समस्या अहिलेपनि भोगिरहेको बताए । उनले उपत्यकामा मेलम्ची खानेपानीको वितरण सुरु भइसक्दा पनि भक्तपुरका जनताले यसको उपयोग गर्न नपाएको गुनासो गरे । उनले भने, ‘काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको वितरण भइरहेको छ । तर सूर्यविनायकमा मेलम्ची खानेपानीको ६० लाख क्षमताको ट्याङ्की निर्माण भएतापनि यस क्षेत्रका सर्वसाधारण बत्तीमुनिको अँँध्यारोमा बस्न बाध्य भएका छन् ।’
उनले सूर्यविनायक नगरपालिकामा पनि यथासिघ्र मेलम्ची खानेपानीको वितरण गर्न अनुरोध समेत गरे ।
थापाले विक्रम सम्बत् २०७१ सालमै सूर्यविनायकको जंगल परिसरलाई राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने भनी मन्त्रिपरिषद्ले निर्णय गरेतापनि प्रारम्भिक काम बाहेक यसले पूर्णता पाउन नसकेको गुनासो गरे ।
उनले प्रदेश राजधानीलाई संघीय राजधानीसँग जोड्ने राजमार्गको परिकल्पना गरेतापनि अझैपनि पालिकादेखि सदरमुकाम र वडादेखि पालिकासम्म जोड्ने सडक पूर्वाधारण निर्माण हुन नसकेको बताए ।