काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । राष्ट्रिय योजना आयोगको सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना समेत पारित गरेको हो ।
आयोगका सदस्य डा.रामकुमार फुयाँलले बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको बताए । उनले अन्तर सरकार वित्त व्यवस्थापन २०७४ बमोजिम बजेट नेपाल सरकारले तय गरेको राजस्व र खर्चको आँकडा र वार्षिक कार्यक्रमहरु स्वीकृत भएको बताए ।
उनले सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरुले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्नेगरी सुनिश्चित गरिएको बताए ।
उनले अहिलेको बजेट १६ खर्ब ८८ अर्बको सिलिङको हाराहारीमा रहेको पनि बताए । उनले बजेटमा खर्चमा मितव्ययिता अपनाउने, साधरण खर्च कटौती गर्ने, पुँजीगत खर्चलाई प्रभावकारी रुपमा गर्नसक्ने बनाउने गरी बजेट ल्याउँदा राज्यभित्र भएका संरचनाहरुलाई बलियोसँग चलायमान बनाउने गरी आउने बताए ।
उनले सरकारले बजेट उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार सिर्जना गर्ने, उद्योगमशिलताको विकास गरी ७५३ स्थानीय तहमा भएको जनशक्ति प्रयोग गर्नसक्ने किसिमको र प्रभावकारी रुपमा कार्यान्वयन हुने किसिमको बनेको बताए ।
बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा.प्रकाशशरण महत, मुख्यसचिव शंखर बैरागीको सहभागिता रहेको थियो ।