काठमाडौं । खेल जगतमा धेरैले रुचाउने फुटबलप्रतिको ‘क्रेज’ र चासो नहुने आजकल कमै होलान् । केटाकेटी, युवा वा वयस्क नै किन नहुन्, सर्वाधिक रुचाइएको खेलका रुपमा फुटबललाई लिने गरिन्छ । विश्वव्यापी रुपमा समेत सबैभन्दा बढी दर्शक यदि कुनै खेलको छ भने त्यो हो फुटबल । शारीरिक रुपमा चुस्त र मानसिक रुपमा स्वस्थ रहन समेत खेलकूदको महत्वपूर्ण भूमिका रहनेमा कसैको दुईमत छैन ।
पछिल्लो समयमा नेपालमा पनि व्यवसायिक खेलकूदको विकास हुन थालेको देखिन्छ । अझ फुटबलको व्यवसायिक सम्भाव्यता त झनै बलियो देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत व्यवसायिक ढंगले आफ्नो करियर नै बनाउन सकिने भएको छ फुटबल ।
फुटबलको ‘क्रेज’ देखेर मात्र होइन, व्यवसायिक करियर नै बनाउन सकिन्छ भनेर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर १ का अनुस्कृत न्यौपाने अहिले व्यसायिक रुपमै फुटबल प्रशिक्षणमा तल्लिन छन् । उनी अहिले हरेक शनिवार ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा जारी नियमित फुटबल प्रशिक्षणमा व्यस्त छन् । त्यसो त उनी एन्फाको औपचारिक प्रशिक्षण बाहेक हप्ताको ३ दिन आफ्नै वडामा रहेको फुटसल केन्द्रको प्रशिक्षणमा समेत सहभागी हुँदै आएका छन् ।
शारीरिक रुपमा समेत तन्दरुस्त अनुस्कृतको अहिलेको उचाइ ५ फिट ९ इन्च छ । उनी अहिले १४ बर्षका भए । औपचारिक रुपमा कक्षा ८ मा अध्ययन गरिरहेका अनुस्कृत सानैदेखि फुटबलप्रति रुची राख्थे । स्थानीय रुपमा आफ्ना सहपाठीसँग फुटबल खेल्दा–खेल्दै उनीमा फुटबलप्रतिको मोह झन् बढ्न थाल्यो । सोही कारण उनी अझै फुटबलमा आफू तल्लीन भएर लाग्न थाले । फुटबलप्रतिको उनको यो लगावमा थप हौसला र प्रेरणा अनि साथ दिए उनका पिता सन्तोषले । आफ्नो छोराको फुटबलप्रतिको लगाव र रुचीका कारण पनि आफूले छोरालाई व्यवसायिक रुपमै प्रशिक्षणमा सहभागी गराएको सन्तोष बताउँछन् । उनी भन्छन्, ‘औपचारिक शिक्षासहित व्यक्तित्व विकास र क्षमता अभिबृद्धि गर्न छोराको फुटबलप्रतिको झुकावलाई पारिवारिक रुपमा हामीले साथ र सहयोग गरेका छौं ।’
फुटबल खेलमा धेरैको चासो डिफेन्डर वा स्ट्राइकर बन्ने नै हुने गरेको पाइन्छ । तर अनुस्कृत भने ‘गोलरक्षक अर्थात् गोलकिपर’ आफ्नो रोजाइको पोजिशन भएको बताउँछन् । उनी भन्छन्, ‘फुटबल खेल उत्कृष्ट हुन जति अन्य खेलाडीको भूमिका हुन्छ, त्यति नै गोल पोष्टमा बसेर खेल्ने खेलाडीको हुने गर्दछ ।’ राष्ट्रिय टोलीबाट खेल्ने उत्कट अभिलाषा रहेको बताउने अनुस्कृत मिहिनेत र लगनशीलताले सफलता हासिल गरिने बताउँछन् ।
अनुस्कृत नेपाली फुटबल टिमका गोलरक्षक किरण चेमचोङ्ग, जर्मनीका म्यानुयल नेउअर, वेल्जियमका थिबाउट कार्टुअस, बाज्रिलका एलिसन बेकर र इडरसनलाई आफ्नो आदर्श मान्छन् । उनीहरुले फुटबल खेलमा गोलकिपरका रुपमा देखाएको उत्कृष्ट क्षमताबाट आफू प्रभावित भएको अनुस्कृत बताउँछन् ।
नेपालको व्यवसायिक फुटबललाई प्रबर्द्धन गर्ने आधिकारिक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशका विभिन्न भागबाट नयाँ फुटबल खेलाडी तयार गर्न आवश्यक प्रशिक्षण प्रदान गरिरहेको छ । खासगरी विद्यालय अध्ययन गर्ने बालबालिकालाई समेत लक्षित गरी सुरु गरिएको यस्तो प्रशिक्षणले सम्भाव्यता भएका खेलाडीको पहिचान गर्न र नेपाली फुटबल खेलमा नव खेलाडी छनौट गर्न समेत मद्दत पुग्ने एन्फाले जनाएको छ ।
फोटो : क्षितिज थापा, क्यापिटल दैनिक